मस्तिष्कघात (स्ट्रोक) एक गम्भीर स्वास्थ्य समस्या हो, जसमा मस्तिष्कमा जाने रक्त प्रवाह अचानक रोकिन्छ वा रक्तनली फुट्छ। यसले मस्तिष्कका कोषहरूलाई अक्सिजन र पोषण नपुग्दा क्षति पुर्याउँछ। समयमै उपचार नभए स्थायी अपाङ्गता वा ज्यानसमेत जान सक्छ।
स्ट्रोक मुख्यतः दुई प्रकारका हुन्छन्। पहिलो, इस्केमिक स्ट्रोक— जसमा रक्तनलीमा थक्का जमेर रक्त प्रवाह रोकिन्छ। दोस्रो, हेमोरेजिक स्ट्रोक— जसमा रक्तनली फुटेर मस्तिष्कभित्र रक्तस्राव हुन्छ। उच्च रक्तचाप, मधुमेह, धूम्रपान, उच्च कोलेस्ट्रोल र अस्वस्थ जीवनशैली यसका प्रमुख कारण हुन्।
स्ट्रोकका लक्षणहरू अचानक देखिन्छन्— एकातिर शरीर लुलो हुनु, बोली अस्पष्ट हुनु, आँखाले राम्ररी नदेख्नु, चक्कर लाग्नु वा असन्तुलन हुनु। यस्तो अवस्थामा “FAST” (Face drooping, Arm weakness, Speech difficulty, Time to act) को संकेत सम्झनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ।
बच्ने उपायहरू भने निकै सरल छन्। नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, धूम्रपान र मदिरा सेवनबाट टाढा रहने, रक्तचाप र चिनीको मात्रा नियन्त्रणमा राख्ने, र समय–समयमा स्वास्थ्य परीक्षण गराउने। तनाव व्यवस्थापन र पर्याप्त निद्राले पनि जोखिम घटाउँछ।
स्ट्रोकबाट जोगिन सचेतना नै सबैभन्दा ठूलो औषधि हो। स्वस्थ जीवनशैली अपनाएर र प्रारम्भिक लक्षण चिनेर समयमै उपचार गरेमा यसबाट हुने गम्भीर असरहरूलाई धेरै हदसम्म रोक्न सकिने न्युरोलोजी विशेषज्ञ डा. प्रदीप पन्थीको भनाइ छ ।
