गर्भावस्था महिलाको जीवनको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अवस्था हो । यस समयमा आमा र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्यलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ । सानो गल्ती वा लापरबाहीले पनि जटिल समस्या निम्त्याउन सक्छ । त्यसैले गर्भवती महिलाले आफ्नो जीवनशैली, खानपान, व्यवहार र स्वास्थ्य परीक्षणमा विशेष सावधानी अपनाउनु जरुरी हुन्छ । गर्भावस्थामा ध्यान दिनुपर्ने प्रमुख कुराहरू यहाँ सरल रूपमा प्रस्तुत गरिएको छ ।
१) सन्तुलित र पोषिलो आहार
गर्भावस्थामा आहार सबैभन्दा महत्वपूर्ण पक्ष हो । आमाले खाने खानाले नै बच्चाको वृद्धि र विकासमा प्रत्यक्ष प्रभाव पार्छ । यस समयमा हरियो सागसब्जी, फलफूल, दूध, अण्डा, दाल, गेडागुडी र प्रोटिनयुक्त खाना नियमित खानु पर्छ । आइरन, क्याल्सियम, फोलिक एसिड जस्ता पोषक तत्व विशेष आवश्यक हुन्छ ।
जंक फुड, धेरै चिल्लो, मसालेदार र बाहिरको अस्वस्थ खाना सकेसम्म कम गर्नुपर्छ । पर्याप्त पानी पिउनु पनि अनिवार्य छ, जसले शरीरलाई हाइड्रेटेड राख्छ र कब्जियत जस्ता समस्या कम गर्छ ।
२) नियमित स्वास्थ्य जाँच
गर्भावस्थामा नियमित स्वास्थ्य जाँच ९ब्ल्ऋ अजभअप(गउ० अत्यन्त आवश्यक हुन्छ । यसले आमा र बच्चाको अवस्था बुझ्न मद्दत गर्छ । रक्तचाप, तौल, रगत परीक्षण, अल्ट्रासाउन्ड जस्ता जाँच समयमै गरिनुपर्छ ।
डाक्टरको सल्लाह अनुसार फलोअप गर्नाले कुनै पनि जटिलता समयमै पहिचान गर्न सकिन्छ र उपचार सहज हुन्छ ।
३) आराम र पर्याप्त निद्रा
गर्भवती महिलाले पर्याप्त आराम लिनु पर्छ । दिनमा कम्तीमा ७ देखि ८ घण्टा राम्रो निद्रा आवश्यक हुन्छ । धेरै थकाइ हुने काम, भारी सामान उठाउने वा लामो समय उभिने कामबाट बच्नुपर्छ ।
विशेषगरी बायाँ सुत्दा रक्तसञ्चार राम्रो हुन्छ र बच्चालाई अक्सिजन राम्रोसँग पुग्छ ।
४) हल्का व्यायाम र हिँडडुल
गर्भावस्थामा पूर्णरूपमा निष्क्रिय हुनु पनि राम्रो होइन । हल्का व्यायाम, जस्तै बिहानको हिँडाइ, प्राणायाम वा डाक्टरको सल्लाह अनुसार योग गर्नु उपयोगी हुन्छ । यसले शरीर सक्रिय राख्छ, प्रसवलाई सहज बनाउँछ र मानसिक तनाव कम गर्छ । तर अत्यधिक कठिन व्यायाम वा जोखिमयुक्त गतिविधिबाट भने बच्नुपर्छ ।
५) औषधि सेवनमा सावधानी
गर्भावस्थामा कुनै पनि औषधि डाक्टरको सल्लाहबिना सेवन गर्नु हुँदैन । सामान्य ज्वरो, दुखाइ वा अन्य समस्यामा पनि आफूखुसी औषधि खानु जोखिमपूर्ण हुन सक्छ । चिकित्सकले सिफारिस गरेका भिटामिन वा औषधि मात्र प्रयोग गर्नुपर्छ ।
६) मानसिक स्वास्थ्यको हेरचाह
गर्भावस्थामा शारीरिक मात्र होइन मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तनाव, डर, चिन्ता वा डिप्रेसनले बच्चाको विकासमा असर पार्न सक्छ । परिवारको साथ, सकारात्मक सोच र खुशी वातावरण अत्यन्त आवश्यक हुन्छ । परिवारका सदस्यहरूले गर्भवती महिलालाई माया, सम्मान र सहयोग दिनुपर्छ ।
७) नशालु पदार्थबाट टाढा रहनु
चुरोट, मदिरा, सूर्तीजन्य पदार्थ वा कुनै पनि नशालु वस्तु गर्भावस्थामा पूर्णरूपमा निषेध गर्नुपर्छ । यस्ता पदार्थले बच्चाको शारीरिक र मानसिक विकासमा गम्भीर असर पार्छ र जन्मजात समस्या निम्त्याउन सक्छ ।
८) सरसफाइमा ध्यान
गर्भवती महिलाले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । नियमित नुहाउने, सफा कपडा लगाउने, हात धुने बानी राख्नुपर्छ । संक्रमणबाट बच्न सरसफाइ अत्यन्त महत्वपूर्ण हुन्छ ।
९) खतराका संकेतहरू बुझ्ने
गर्भावस्थामा केही लक्षणहरू देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । अत्यधिक पेट दुख्नु, रक्तस्राव हुनु, बच्चाको हलचल कम हुनु, अत्यधिक वान्ता वा कमजोरी, उच्च रक्तचाप जस्ता संकेतहरूलाई बेवास्ता गर्नु हुँदैन ।
१०) परिवारको भूमिका
गर्भवती महिलाको हेरचाहमा परिवारको भूमिका ठूलो हुन्छ । श्रीमान् आमा, सासु र अन्य सदस्यहरूले उनलाई मानसिक र शारीरिकरूपमा सहयोग गर्नुपर्छ । घरको कामको बोझ कम गरिदिनु, सही खानपान उपलब्ध गराउनु र भावनात्मक साथ दिनु आवश्यक हुन्छ । गर्भावस्था कुनै रोग होइन, तर विशेष हेरचाह आवश्यक पर्ने अवस्था हो । यो समयमा महिलाले आफ्नो जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ । सही आहार, नियमित जाँच, मानसिक शान्ति र परिवारको सहयोगले स्वस्थ आमा र स्वस्थ बच्चा जन्माउन मद्दत गर्छ ।
सचेतना र सावधानी अपनाएमा गर्भावस्था सुरक्षित, सहज र सुखद अनुभव बन्न सक्छ । हामी स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको उद्देश्य पनि यस्तै नै हुने गर्दछ ।
