हेटौंडा । बागमती प्रदेशमा दन्त स्वास्थ्य सेवालाई थप व्यवस्थित, गुणस्तरीय र नागरिकमैत्री बनाउने विषयमा माननीय डा. अंकिता ठाकुरले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमसँग छलफल गर्नुभएको छ।
छलफलका क्रममा प्रदेशभर सञ्चालनमा रहेका दन्त क्लिनिकहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आवश्यक कानुनी तथा नीतिगत सुधार गर्ने, सेवा सञ्चालनका मापदण्डलाई थप व्यवस्थित बनाउने तथा नियमित अनुगमन प्रणालीलाई सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको थियो।
सो अवसरमा डा. ठाकुरले दन्त स्वास्थ्य सेवालाई प्रदेशभर सहज र समान पहुँचमा विस्तार गर्न प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले गुणस्तरीय दन्त उपचार नागरिकको आधारभूत स्वास्थ्य अधिकार भएकाले सेवा विस्तारसँगै दक्ष जनशक्ति उत्पादन, आवश्यक पूर्वाधार विकास तथा स्पष्ट नीतिगत व्यवस्थामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
छलफलमा स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले प्रदेश सरकारले दन्त स्वास्थ्य सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक नीति तथा कार्यक्रममार्फत काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँहरूले नागरिकलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित आवश्यक सहकार्य, समन्वय र नीतिगत पहललाई थप प्रभावकारी रूपमा अघि बढाउने बताउनु भयो।
