काठमाडौं । लामो समयदेखि बिनाजानकारी उपस्थित नभएको भन्दै वीर अस्पतालले बर्खास्त गर्न लागेका १२ जना स्वास्थ्कर्मी ०७४ सालदेखि अस्पतालको सम्पर्कमा नआएको देखिएको छ ।
बर्खास्त गर्न लागेका १२ जनामध्ये तीनजना २०७४ सालदेखि, चारजना ०७५ देखि, दुईजना ०७६ देखि र दुईजना ०७८ देखि अस्पतालमा अनुपस्थित भएको अस्पतालको रेकर्डमा देखिएको छ ।
उनीहरुले सुरुको दुई महिना विभिन्न सुविधाबापतको बिदा लिएको र त्यसपछि अस्पतालमा हाजिर नै नभएको देखिएको अस्पतालको प्रशासन शाखा प्रमुख सागर मिश्रले बताए ।
सबैलाई बर्खास्त गर्ने तयारी
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले आइतबार १२ जनाकै नाममा सार्वजनिक सूचना जारी गर्दै ३० दिनभित्र अस्पतालमा हाजिर नभए नियमअनुसार कारबाही हुने जनाएको थियो । बिनाजानकारी अस्पताल हाजिर नहुनेमा एक चिकित्सक, नौजना स्टाफ नर्स र दुईजना अनमी छन् ।
