काठमाडौँ । काठमाडौँको पिङ्लास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि अज्ञात व्यक्तिद्वारा धारिलो हतियारबाट आक्रमण भएको छ ।
काठमाडौँ महानगरपालिका–९ स्थित पिङ्लास्थानमा सञ्चालित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ अन्दाजी ३८ वर्षीय सवीर हुसेनलाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सवीर हुसेनलाई धारिलो हतियार प्रहार भएको भनेर उपचारमा संलग्न डाक्टरहरुले पनि भनेका छन्, घटनास्थलमा एक थान कटुवा पेस्तोल फेला परेको छ, आक्रमणकारीको खोजी भइरहेको छ ।” आक्रमणबाट घाइते हुसेनको अहिले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो । रासस
