काठमाडौँ । केही महिनाअघि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीले जलनसम्बन्धी अनुभव र अठोट अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनु भएको छ ।
अमेरिकाको वासिङ्टन डिसीमा शनिबार सुरु भएको ‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा उहाँले जलनबाट शरीरमा चोट लागेर कमजोर भएपनि आत्मबलमा कुनै असर नगरेको बताउनुभएको उहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सांसद भण्डारीले आगोले कुनै व्यक्तिको शरीरसँगै भावना पनि जलाएको र परिवारका सदस्यहरूको शक्ति कमजोर बनाएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “मेरो जस्तो विकासशील देशमा त यसले आर्थिक रूपमा पनि जलाउँदो रहेछ ।”
नेता भण्डारीले शारीरिक, मानसिक र पारिवारिक रुपमा जलेपनि आफूले भने पुनर्जीवन पाएकाले अबको जीवन आगोको चोटबाट बच्न सचेतना जगाउन र जलेकाहरूको उपचारमा सघाउन केन्द्रित गर्ने अठोट पनि विश्व समुदाय सामु व्यक्त गर्नुभयो ।
उहाँले यस प्रकारका घटना न्यूनीकरणका लागि यस क्षेत्रमा योगदान गर्न सके मात्रै आफ्नो पुनर्जन्मको सार्थकता रहने बताउनुभयो । अन्तर्राष्ट्रिय समुदायबीचमा आफ्नो अनुभव र जलनसम्बन्धी नेपालको अवस्थाबारे जानकारी गराउन र अन्तर्राष्ट्रिय अभ्यास, अनुभव र सहयोग नेपाल भित्र्याउन आफू उत्सुकताका साथ सम्मेलनमा सहभागी भएको उहाँको भनाइ थियो ।
सम्मेलन आयोजक संस्था ‘फिनिक्स सोसाइटी फर बर्न सर्भाइभर्स’बाट जलेका बिरामीको आवश्यकता र चुनौती बुझेर उनीहरूका लागि थप चिकित्सा अनुसन्धानका मुद्दालाई सम्बोधन गर्न सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । त्यसैगरी विश्वव्यापीरुपमा जलनको सचेतना, उपचार, हेरचाह र अनुसन्धानलाई प्राथमिकता दिन सम्बन्धित देशका सरकारलाई दबाब दिनुपर्ने, विश्वव्यापी रूपमा जलेर बाँचेकाहरूका लागि अभिभावकत्व प्रदान गर्नुपर्ने, पीडितका परिवारलाई भरपर्दो सहयोग प्रदान गर्नुपर्नेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भएको थियो ।
सम्मेलनमा नेता भण्डारीसँगै उहाँकी धर्मपत्नी डा लक्ष्मी पाण्डेय, जलन विशेषज्ञ प्रा डा शङ्करमान राई, फिजियो थेरापी विज्ञ मोहन डङ्गोल सहभागी हुनुहुन्छ ।
कांग्रेस नेता भण्डारीको काठमाडौँको बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते राति आगलागी हुँदा जलेर घाइते हुनुभएको थियो । उहाँलाई सुरुमा कीर्तिपुरको वर्न सेन्टर र त्यसपछि थप उपचार भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा गराइएको थियो । रासस