अदानचुली (हुम्ला) । सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन्। आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिनुभयो।
गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन्। घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ।
आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ। क्षतिबारे आँकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताउनुभयो। स्थानीयको पहलमा आगो निभाइएको उहाँले बताउनुभयो।
अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताउनुभयो। “अहिले आगो निभाइसकिएको छ”, उहाँले भन्नुभयो । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताउनुभयो।रासस
