जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले शनिबार अमेरिकाले विश्वव्यापी स्वास्थ्य अनुगमनकारी संस्था (डब्ल्युएचओ)बाट पछि हट्नुपर्ने कारणलाई ‘असत्य’ भन्नुभएको छ।
सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओ प्रमुख टेड्रोसले टिप्पणी गर्नुभयो, “यो कदमले संयुक्त राज्य अमेरिका र विश्वलाई ‘कम सुरक्षित’ बनाउनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन सन् २०२५ जनवरी २० मा संयुक्त राष्ट्रसङ्घको विशेष निकायबाट औपचारिक रूपमा बाहिरिने कार्यविधिमा हस्ताक्षर गर्नुभएको थियो।
त्यसको दुई दिनपछि संयुक्त राष्ट्रसङ्घले औपचारिक सूचना प्राप्त गरेको थियो । संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुसार यो फिर्ती सूचना दिएको एक वर्षपछि लागू हुनेछ।
डब्लुएचओको धेरै महान उपलब्धिहरूमा संस्थापक सदस्यको रूपमा संयुक्त राज्य अमेरिकाले गरेको योगदानको प्रशंसा गर्दै टेड्रोसले एक्समा गरेको पोस्टमा लेख्नुभएको छ, “दुर्भाग्यवस, डब्ल्यूएचओबाट बाहिरिने अमेरिकाको निर्णयको कारणमा सत्यता छैन।” अमेरिकी कदमले अमेरिका र विश्व दुवैलाई सुरक्षित बनाउने र भविष्यमा डब्लुएचओमा सक्रिय सहभागितामा फर्कने आशा व्यक्त गर्नुभयो।
डब्लुएचओले शनिबार एक विज्ञप्ति जारी गरी ट्रम्प प्रशासनले लगाएको आरोपको खण्डन गर्दै अमेरिकी फिर्तीप्रति खेद व्यक्त गरेको थियो। अमेरिकी फिर्तीले त्यस्ता मुद्दाहरू उठाउँछ, जुन डब्ल्यूएचओको कार्यकारी समितिले सन् २०२६ फेब्रुअरी २ मा सुरु हुने नियमित बैठकमा र मेमा हुने विश्व स्वास्थ्य सम्मेलनले आफ्नो वार्षिक बैठकमा विचार गर्नेछ।
डब्लुएचओको एक प्रेस अधिकारीले सिन्ह्वासँग भन्नुभयो, “परिणामहरूको सामना गर्न डब्ल्यूएचओ सचिवालयले हाम्रा परिचालक निकायहरूको सल्लाह र मार्गदर्शनमा तदनुसार कार्य गर्नेछ।” ती अधिकारीका अनुसार अमेरिकाले आफ्नो सदस्यता बक्यौता भुक्तान गर्न बाँकी छ ।
“आजसम्म, संयुक्त राज्य अमेरिकाले सन् २०२४ र सन् २०२५ को लागि आफ्नो मूल्याङ्कन योगदानको तोकिएको रकम भुक्तानी गरेको छैन,” अधिकारीले भने। अमेरिकास्थित नेसनल पब्लिक रेडियो (एनपीआर) ले रिपोर्ट गरेअनुसार यो दुई बर्षको कुल बक्यौता रकम लगभग २७८ मिलियन अमेरिकी डलर हुन आउँछ।रासस
