मानव शरीरका हाडजोर्नीले शरीरलाई आधार, आकार र गति प्रदान गर्छ । हाडले शरीरका महत्वपूर्ण अंगलाई सुरक्षा दिन्छ भने जोर्नीले हिँडडुल गर्न, बस्न, उठ्न, काम गर्न सहज बनाउँछ । हाडजोर्नी कमजोर हुँदा सामान्य जीवनयापनसमेत कठिन बन्न सक्छ ।
आजकल बढ्दो उमेर, असन्तुलित खानपान, व्यायामको कमी, मोटोपना र गलत जीवनशैलीका कारण हाडजोर्नीसम्बन्धी समस्या बढ्दै गएका छन । गठिया, अस्टियोपोरोसिस, कम्मर दुखाइ, घुँडा दुखाइ जस्ता रोगहरू समयमै ध्यान नदिँदा जटिल बन्न सक्छ । त्यसैले हाडजोर्जी स्वास्थ्यप्रति सचेत हुनु अत्यावश्यक छ । हाडजोर्नी स्वस्थ राख्ने केही उपायहरू यस प्रकार छन् :
१. क्याल्सिमयुक्त आहार सेवन गर्ने : हाड मजबुत बनाउन क्याल्सियम अत्यन्त आवश्यक तत्व हो । दूध, दही, पनिर, सागसब्जी, तिल, बदाम, माछा जस्ता खानामा क्यायिम प्रशस्त पाइन्छ ।
२. भिटामिन ‘डी’ को कमी हुन नदिने : भिटामिन ‘डी’ बिना क्याल्सियम हाडमा राम्रोसँग बस्न सक्दैन । बिहानको घाम १५–२० मिनेट लिनु, अन्डा, माछा, दूधजस्ता खानामा ध्यान दिनु उपयुक्त हुन्छ ।
३. नियमित व्यायाम : हिँडडुल, दौड, योग, स्ट्रेचिङ र हल्का तौल उठाउने व्यायामले हाडजोर्नी बलियो बनाउँछ । नियमित व्यायामले जोर्नी जाम हुने समस्या पनि कम गर्छ ।
४. सही आसन र शारीरिक गतिविधि : लामो समय एउटै आसनमा बस्नु, गलत तरिकाले भारी उठाउनु वा झुकेर काम गर्नु हाडजोर्नीका लागि हानिकारक हुन्छ । सधैँ सही पोस्चर अपनाउनु जरुरी छ ।
जीवनशैली सुधारका उपायहरू :
१. तौल नियन्त्रणमा राख्ने : अत्यधिक तौलले घुँडा, कम्मर र जोर्नीमा अतिरिक्त दबाब पार्छ । तौल नियन्त्रणमा राख्दा हाडजोर्नीसम्बन्धी समस्या कम हुन्छ ।
२. धुम्रपान र मदिरा त्याग्ने : धूम्रपानले हाड कमजोर बनाउँछ भने अत्यधिक मदिरा सेवनले क्याल्सियमको अवशोषण घटाउँछ । स्वस्थ हाडजोर्नीका लागि यी बानी त्याग्नु उत्तम हुन्छ ।
३. पर्याप्त आराम र निद्रा : शरीरले आराम पाउँदा हाडजोर्नी पुनःस्थापित हुन्छ । दैनिक ७–८ घण्टा गुणस्तरीय निद्रा आवश्यक छ ।
४. चिसो र चोटबाट जोगिने : चिसो मौसममा जोर्नी दुख्ने समस्या बढ्न सक्छ । न्यानो लुगा लगाउने र चोटपटकबाट जोगिने बानी बसाल्नु जरुरी छ ।
हाडजोर्नी रोगका प्रारम्भिक संकेत :
– घुँडा, कम्मर वा जोर्नी दुखाइ
– जोर्नी सुन्निनु वा जाम हुनु
– हिँड्दा चररचरर आवाज आउनु
– उठबस गर्न गाह्रो हुनु
– लामो समय बस्दा वा उठ्दा दुखाइ बढ्नु
– यी लक्षण देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श लिनुपर्छ
विशेषगरी ४० वर्षपछिका व्यक्तिहरू, महिलाहरू (मेनोपजपछि) , दीर्घ रोगी तथा धुम्रपान गर्ने व्यक्तिले हाडको घनत्व (Bone Density Test) र स्वास्थ्य जाँच गराउनु उपयोगी हुन्छ । यसले हाड कमजोर हुने अवस्थालाई समयमै पहिचान गर्न मद्दत गर्छ ।
हाडजोर्नी स्वस्थ भए मात्र शरीर सक्रिय र जीवन सहज हुन्छ । सन्तुलित आहार, नियमित व्यायाम, सही जीवनशैली र समयमै स्वास्थ्य जाँच अपनाएर हाडजोर्नीसम्बन्धी धेरै समस्या रोक्न सकिन्छ । आजैदेखि सानासाना सावधानी अपनाई हाडजोर्नीलाई स्वस्थ राख्नु नै दीर्घकालीन स्वास्थ्यको आधार हो ।
