पोखरा । वरिष्ठ सञ्चारकर्मी सुधन ज्ञवाली स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०७९ (गण्डकी तथा लुम्बिनी प्रदेश बिशेष) बाट सम्मानित हुनु भएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवका अवसरमा मंगलबार पोखरामा भएको कार्यक्रममा ज्ञवालीलाई सो अवार्ड प्रदान गरिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का , वरिष्ठ पत्रकार किशोर नेपाल सहितले ज्ञवालीलाई अवार्ड प्रदान गर्नुभएको हो ।
कोराना भाइरसको महामारीका बेला नागरिकलाई खोप लगाउन प्रेरित गरेको भन्दै उहाँलाई उत्कृष्ट प्रेरक वक्ताकारुपमा अवार्ड प्रदान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले बताउनु भयो ।
हाल डब्लुएचओमा कार्यरत सञ्चारकर्मी ज्ञवालीले सकारात्मक सोच विकासका लागि विभिन्न ठाउँ र अवसरमा प्रेरक वक्ताको रुपमा भूमिका निर्वाह गर्दै आउनु भएको छ । कार्यक्रममा गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्यसँग सम्बन्धित चिकित्सक,स्वास्थ्यकर्मी लगायत १९ जना व्यक्तित्व सम्मानित हुनु भएको थियो ।
कार्यक्रममा एनआरएनए निवर्तमान उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, पत्रकार किशोर नेपाल, दीपेन्द्र श्रेष्ठ, विमला भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।