स्वास्थ्य र परिवार
सुनेको थिएंँ , जिन्दगीमा उकाली ओराली नभई समथर बाटोको आनन्द कम हुन्छ । तर समथर क्षेत्र अर्थात् उकाली ओराली विनाको जिन्दगी नै नहुदाँ वा भनौं जिन्दगीमा त्यो सजिलो बाटोनै बन्द हुँदा एउटा परिवार कतिसम्म कहाली लाग्दो अवस्थामा पुग्न सक्छ भन्ने कुरा आजको यो लेख मार्फत मैले व्यक्त गर्न खोजेका छु ।
कुरा आज भन्दा करिब ३५ वर्ष अगाडिको हो । जतिबेला म ५ वर्षको थिएंँ । एउटा सुन्दर परिवार जहाँ दुई जना छोराहरु त्यस मध्येका जेठो छोरा म र तीन वर्षको भाई अनि आमा र बाबा ! गुल्मी जिल्लाको एउटा सुन्दर गाउँ (रुरु) क्षेत्रमा जन्मिएको म । जब म पाँच वर्षको थिएंँ सधंैका लागि बाबा भन्ने शब्दलाई बिर्सनु प¥यो । त्यतिबेला गाउँबाट हाम्रो परिवार हामी दुई भाईको केही स्तरीय शिक्षाको खोजी गर्दै बुटवलमा बसाई सराई गरेका थियौं । जब त्यतिबेलानै परिवारको मुख्य व्यक्ति बाबालाई क्यान्सर भयो भन्ने कुरा पत्ता लाग्यो र उपचारको निम्ति बुटवल हुँदै काठमाडौं त्यहाँबाट भेलोर र दिल्लीका अस्पतालहरुमा लगियो तर चौथो स्टेजमा पुगिसकेको मेरो बाबाको उक्त क्यान्सर रोगको उपचार सम्भव भएन । हामीले दिल्लीमा बाबाको उपचारमा पैसा मात्र होइन सबै थोक सकिएपछि मृत शरीरलाई नेपाल ल्याउने अवस्था पनि रहेन । हामीसंँग कुनै कुरा बांँकी रहेनन ।
आफ्ना कलिला दुई छोराहरुको उज्ज्वल र सुन्दर भविष्यको गोरेटो बनाउन बुटवलमा पढाइका लागि ल्याईएका हामीहरु अब ४ जनाको परिवारबाट बाबा विहिन बन्दै हामी ३ जना मात्र बनेर गुल्मी फर्कियौं भाई म र आमा । यसरी विगतका ती दिन सम्झेर लेख लेख्दै गर्दा मन नराम्रोसँंग कुंँडिएर आउँछ ।
बाबाको देहान्त पछि परिवारमा निर्वाहमुखी खेतीपाती , १–२ वटा बाख्रा र भैसीको घिउ र दूध बेचेर अब हाम्रा कापी किताबहरु किन्नपर्ने अवस्था सिर्जना भयो । हामी निकै दुःख गरेर फेरी गाउँकै स्कुलमा त्यो पनि सबैभन्दा निम्न र कमजोर परिवारको सदस्य बनेर जीवन अगाडी बढाउन बाध्य भयाँै
कारण थियो ,परिवारको एकजना सदस्यलाई लागेको रोग, उक्त रोगको उपचारमा सकिएको सम्पत्ति र पैसासंगै अनि हाम्रो अभिभावकलाई गुमाएका एक्ला हामीहरु । मलाई अहिले लाग्छ संसारका कम मान्छेहरुले भोग्ने पीडा जुन पीडा सुन्दर सपनाहरु भत्किएपछि शुरु हुन्छन् । ती पीडा मेरो परिवार र मैले भोगेको छु । आज आएर मैले मेरो विगत फर्किएर हेर्दा र अस्पतालमा यस्तै रोगहरुसँग लामो समयसम्म लडिरहेका विरामी हेर्दा र उनीहरुको परिवार र आफन्तको अवस्था देख्दा मलाई लाग्छ आज पनि स्थिति त्यति धेरै फरक भएको छैन ।
मैले कहिलेकाहींँ सोच्छु बाबालाई रोग नलागेको भए ! रोग लागेको भएपनि समयमै त्यसको जानकारी भैदिएको भए र उपचार पछि बाबाको भौतिक जीवन हामी सँंगै भए हाम्रो परिवार आज पनि संसारकै सुखी मध्येको परिवार बनेर रहिरहन्थ्यो । हो,त्यसैले मैले आज एउटा स्टोरी टेलर अर्थात स्वास्थ्य क्षेत्रमा संचार व्यक्तिको रुपमा काम गर्न पाउँदा मेरो कथालाई पनि सबैसँग सुनाउने गरेको छु ।
जसको कारण मानिसहरुले स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने कुरा अनुभुत गर्न सकिन्छ । परिवारमा एक जना व्यक्ति विरामी हुदाँ सो परिवारको र त्यससँग जोडिएका व्यक्तिहरुको सृजनशिलता कति घट्छ । त्यसले त्यही पुस्ता मात्र होइन । भावी पुस्ता या छोरा नाती सम्मलाई पनि कति नकारात्मक असर गर्छ । भन्ने कुरा मैले अनुभव गरेको छु । यो कुरालाई सबैसँग सेयर गर्न सकुँ भन्ने लाग्छ । भनिन्छ नि रोग पछिको उपचार भन्दा रोग लाग्न नदिनु नै उत्तम हो । सँगसँगै अर्को प्रश्न पनि आउला रोग लाग्न दिनु र नदिनु त कहाँ हाम्रो हातमा छ र त्यसो भए त कसलाई चाहना हुन्छ रोगी बन्न र अकालमा मर्नको लागि ? तर यो सजिलो पनि छ । धेरै कुराहरु हाम्रो आफ्नै हातमा छन् । हाम्रा जीवनशैली, खानपान जानेर वा नजानेर गरिने हेलचेंक्र्याई यी सबैकुरा हामै्र हातका कुराहरु छन् ।
आजभोलिको जीवनशैलीलाई हेर्ने हो । भने त अवस्था अझ भयावह छ । नसर्ने रोगहरु हामीले बाच्ने जीवनशैलीका कारण बढ्दैछन् । क्यान्सर, मुटुरोग, चिनीरोग लगायत रोगका बिरामीहरु दिनप्रतिदिन र धेरै जसोको कारण एउटै छ हामीले बांँचिरहेको जीवनशैली । जंँक फुडप्रतिको आर्कषण खासगरी शहरीया जीवनमा शारिरीक व्यायाम अर्थात हिंँडडुलको कमी । म पनि आज काठमाडौंमा बस्दै नजिकबाट शहरीया जीवनलाई नियाल्दा पांँचसय मिटरको तरकारी पसलमा तरकारी खरिद गर्न स्कुटर, मोटर साइकल अथवा गाडीको प्रयोग, त्यस्तै किसिमको खानेकुरा, दिनभर एउटै कुर्सीमा बसेर गरिने काम यी सबै कुराहरुले हामीलाई आज पनि डर लाग्दा रोगहरुले प्रभाव पर्न सक्ने सम्भावना त्यत्तिकै छ ।
त्यसैले हामी आफ्नो लागि मात्र होइन , परिवारको लागि, आफन्त र भावी पुस्ताको सहज जीवनको लागि पनि सजग रहन जरुरी छ जस्तो लाग्छ ।
म जिम्मेवारीले अहिले विश्व स्वास्थ्य संगठनको नेपाल अफिसमा कार्यरत एकजना संचार अधिकृतको रुपमा मैले जति कुराहरु बुझ्ने मौका पाएको छु । त्यो कुराहरुलाई सकेसम्म सबैलाई बुझाउन सके भने पनि उहाँहरुको स्वस्थ जीवन बांँच्नको लागि केही न केही सहयोग हुन्छ जस्तो लाग्छ । विश्व स्वास्थ्य संगठनले आफ्नो ७०औं वार्षिकोत्सवको अवसर पारेर Walk The Talk भन्ने कार्यक्रम नेपालमा पनि WHO विश्व स्वास्थ्य संगठन ) को नेपाल प्रतिनिधिले निकै चासोका साथ सबै खासगरी शहरी क्षेत्रमा बस्ने नेपालीहरुसँग पु¥याउन लागि पर्नुभएको छ । सुर्तिजन्य र मदिराजन्य कुराको सेवनले स्वास्थ्यमा पार्ने नकारात्मक असरको बारेमा बहसहरु शुरु गरिएका छन् ।
मलाई लाग्छ जीवनमा सबै भन्दा ठूलो कुरा स्वास्थ्य हो । यदि स्वास्थ्य राम्रो राख्न सकिएन भने जीवन अंँध्यारो बन्दै जान्छ । मैले भोगेको कथा जस्तै लाग्ने जीवन र अहिले हरेक नागरिकले आफूले बांँच्ने जीवनशैलीबाट आफुलाई स्वस्थ राख्न सकिने सानो कुरामा आजको लेखलाई मैले प्रस्तुत गरेको छु ।
अन्त्यमा रोग लाग्न नदिनको लागि गरिने प्रयास सँगै नियमित स्वास्थ्य परिक्षण पनि अपरिहार्य छ । किन भने यदि कुनै पनि रोगको समयमै पहिचान भयो भने त्यसबाट हुने ठूलो क्षतिबाट आफूलाई बचाउन सकिन्छ । कामना छ कुनैपनि रोगका कारण कसैले कसैलाई अकालमा गुमाउन नपरोस् । हामी सबै त्यसका लागि सजग रँहौ । किनभने पिडा त आखिर परिवारको सदस्य गुमाउनेलाई मात्र थाहा हुन्छ । हो , तपाई हामी सबै अब खुशी र सुन्दर परिवारको लागि आफु र आफ्नो परिवारजनको स्वास्थ्यकोे ख्याल गरौं ।
लेखक वरिष्ठ संचारकर्मी तथा हेल्थ मोटिभेसनल स्पिकर हुनुहुन्छ ।
