सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्या बढ्न थालेपछि सरकारी अधिकारीहरू अहिले स्वास्थ्य शिविर सञ्चालनमा जुटेका छन् ।
जाडो मौसममा आएको परिवर्तनसँगै ज्वरो, रुघा खोकी, निमोनिया जस्ता समस्याका बिरामीहरू बढ्न थालेपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरस्थित मंगलगढी प्राथमिक विद्यालय दीपनगरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
स्वास्थ्य शिविरमा आउने अधिकांशको स्वास्थ्यमा केही–न–केही समस्या देखापरेको जनस्वास्थ्य सेवा कार्यालयका सिनियर अहेव अमर रानाले बताउनुभयो ।
उहाँले शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान, घाँटी, मुख, आँखा, सुगर, उच्च रक्तचाप, छला र पाठेघरको मुखमा हुने क्यान्सर जस्ता रोगहरूको निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको जनाउनुभयो ।
उहाँका अनुसार शिविरमा ५ सय ५० जना बढीले निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि सेवा लिएका छन् । जाडो दिनप्रति बढ्दै गइरहेकाले स्वास्थ्यमा सामान्य समस्या आए पनि सतर्कता नअपनाउँदा जटिलता आउन सक्ने भन्दै चिकित्सकहरूले सजग आग्रह गरेका छन् ।
चिसोका कारण अहिले ज्वरो, रुघा खोकी, निमोनिया लगायतका समस्या भएका बिरामीहरू विभिन्न अस्पताल धाउन थालेको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताउनुभयो ।
उहाँले चिसो बढेसँगै विद्यार्थीहरू तथा अभिभावकको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जनाउनुभयो ।
शिविर उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्रप्रसाद शर्मा, वीनपा १० नम्बर वडाध्यक्ष डीलबहादुर रखाल, मंगलगढी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर बिसी लगायतले चिसोमा प्रतिकुल मौसमका कारण आम नागरिकमा देखापर्ने स्वास्थ्य समस्याप्रति स्थानीय सरकार र जनस्वास्थ्य सेवा कार्यालयले राखेको चिन्ता र चासोप्रति आफूहरू आभारी रहेको बताउनुभएको थियो ।
शिविर वीरेन्द्रनगर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा, साइनिङ अस्पताल सुर्खेत, जनसेवा डेण्टल, ओम कर्णाली डेण्टल लगायतको समन्वय तथा सहयोगमा सम्पन्न गरिएको हो ।