चितवन । हरेक डिसेम्बर एक तारिखमा विश्वभर एड्स दिवस मनाइन्छ । आइतबार नेपालमा पनि विश्व एड्स दिवस मनाइयो । चितवनमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर विश्व एड्स मनाईएको थियो । सो अवसरमा भरतपुरमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । भरतपुर अस्पतालको एआरटी सेन्टरको सभाहलमा आयोजित कार्यक्रममा चिकित्सक, अभियान्ता, एचआईभी प्रभावित तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै एआरटी (एन्टीरेट्रो थेरापी) क्लिनिक भरतपुर अस्पतालका स्रोत व्यक्ति डा.प्रमोद पौडेलले नेपालमा पछिल्लो समय एचआईभी प्रभावितको संख्या घट्दै गएपनि जोखिम नघटेको बताउनु भयो । ‘पछिल्लो तथ्यांक अनुसार नेपालमा ९१ प्रतिशत एचआइभी प्रभावितको संख्या घटेको छ, चितवनमा पनि ५१ प्रतिशतले घटेको अवस्था छ । तर जोखिम भने उत्तिकै कायम छ ।’ डा. पौडेलले भन्नुभयो । बिशेषगरी असुरक्षित यौनसम्पर्क, लागुऔषध प्रयोगकका कारण एचाईभी संक्रमणको जोखिम उत्तिकै रहेको उहांँको भनाई थियो । ‘हामीले एकातिर नयांँ संक्रमित पहिचान र उपचारको पहुंँचमा ल्याएका छौं, अर्कातिर असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोगले चुनौति पनि थपिदै गएको छ ।’ उहांँले भन्नुभयो । कतिपय बिरामीहरु समाजका डर, नियमित औषधि प्रयोग नगर्ने तथा अन्य कारणले गर्दा उपचारमा आउन नसकेकोले पनि ती व्यक्तिबाट एचआईभी संक्रमणको जोखिम रहने उहांँले बताउनु भयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्ण पौडेलले चितवन देशकै केन्द्र र ट्रान्जिट पोइन्ट भएकोले एचआइभीको जोखिम उत्तिकै रहेको बताउनु भयो । ‘चितवन मेडिकल सिटीको रुपमा त विकसित हुंँदै गएको छ । तर यहांँ एचआईभी संक्रमितसंँगै अस्पतालका स्वास्थ्यकर्मी पनि सुरक्षित छैनन ।’ प्राडा पौडेलले भन्नुभयो । भरतपुर अस्पतालमा दुईदर्जन भन्दा बढी जिल्लाका विरामी आउने गरेको जानकारी दिंँदै उहांँले नीजि अस्पतालले एचआईभी संक्रमितको उपचार नगर्ने भएकोले पनि सरकारी अस्पतालमा त्यस्ता बिरामीबाट स्वास्थ्यकर्मी र अन्य बिरामी पनि जोखिममा रहने उहांँका भनाई थियो ।
चितवन सक्रिय महिला प्रतिष्ठानकी अध्यक्ष दिक्षा रिमालले एचआईभी संक्रमितले आफ्नो रोग लुकाउंँदा संक्रमित नभएका व्यक्तिको लागि थप जोखिम हुने बताउनु भयो । ‘एचआईभी संक्रमित हुंँ भनेर पहिलेजस्तो लुकाएर हिड्ने अवस्था छैन, रिमालले भन्नुभयो, संक्रमित खुल्नु जरुरी छ । समाजमा सचेतना ल्याउनु जरुरी छ ।’ एचआईभी संक्रमितको दोष स्वयं संक्रमित नभएर बाबुआमाबाट पनि रोग सर्दा र रगत , सिरिञ्ज तथा लागु पदार्थ सेवनबाट सर्ने भएकोले समाजमा संक्रमितले यथार्थ बिषय राख्नु पर्ने रिमालको भनाई थियो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले नेपाल लगायत चितवनमा एचआईभी संक्रमितको संख्या न्यूनिकरण गर्न र सचेतनाको लागि कार्यालयले समयसमयमा कार्यक्रम गर्दे आएको बताउनु भयो । ‘हामीले विद्यालय कलेज, बसपार्क तथा विभिन्न गोष्ठी सेमिनार मार्फत सचेतनाका कार्यक्रम त गर्दै आएका छौं, तर यो पूर्ण रुपमा पर्याप्त छैन ।’ प्रमुख रुपाखेतीले भन्नुभयो । सिमित श्रोत र साधनका बीच सरकारले मात्रै एचआईभीको निराकारण गर्न नसक्ने भन्दै उहांँले नागरिकहरु पनि उत्तिकै सजग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी एचआइभी संक्रमितले आफूहरुले समाजमा लान्छना र भेदभाव सहनुपरेको, शिक्षा , सीप र रोजगारबाट बञ्चित हुनुपरेको भन्दै सरकारले यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा एड्स नेपाल फाउण्डेशन (एएचएफ) भरतपुरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले चितवनमा एचआईभी संक्रमितको अवस्था तथा तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।
उहांँका अनुसार हालसम्म भरतपुरको एआरटी सेन्टरमा सन् २००७ देखि २०२३ सम्म २ हजार ४५६ जना संक्रमित दर्ता छन । आर्थिक बर्ष २०८०, ०८१ मा २ हजार ११८ जनाले एचआईभी परिक्षण गरेका थिए । एआरटी सेन्टरबाट अन्य जिल्ला गरी ११ हजार ९९४ जनाले औषधि तथा परामर्श लगायतका सेवा लिईरहको संयोजक सापकोटाले जानकारी दिनुभयो ।
