रोम । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो ।
होली सी प्रेस कार्यालयका अनुसार भिडियोको सहायताबाट गरिएको शल्यक्रियाका क्रममा कुनै जटिलता देखिएन । पोप करिब तीन घण्टा अपरेसन कक्षमा रहनुभएको थियो भने शल्यक्रिया करिब ९० मिनेट चलेको थियो । शल्यक्रियापछि उहाँ सामान्य अवस्थामा उठ्नुभयो र चिकित्सकीय निगरानीपछि आफ्नो कोठामा फर्कनुभयो ।
हटाइएको तन्तुको थप परीक्षण आगामी दिनमा गरिनेछ । पोपलाई एक साता अस्पतालमा राख्ने योजनामा परिवर्तन भएको घोषणा गरिएको छैन । शल्यक्रियापछि उहाँले रातिको खाना माग्नुभएको र साँझ आफ्ना सचिव तथा भ्याटिकनका अन्य कर्मचारीसँग बिताउनुभएको होली सी प्रेस कार्यालयका निर्देशक म्याटियो ब्रुनीले बताउनुभएको छ। रासस
