चितवन । स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट सङ्क्रमित मुसामा पाइने सुक्ष्म किर्ना (माइट वा चिगर) को टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग हो ।
जुम्राभन्दा सुक्ष्म हुने यो किर्ना प्रायः नाङ्गो आँखाले देख्न सकिँदैन र यो विशेषगरी मुसाको कान वा शरीरमा बस्ने गर्छ । घाँस वा झाडीमा किर्ना झरेको अवस्थामा मानिसको सम्पर्कमा आउँदा यसको सङ्क्रमण हुन्छ । यद्यपि, यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, शरीर, मांसपेशी तथा जोर्नीहरू दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिनजस्ता लक्षण देखिन्छन् ।
विशेषगरी किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ बन्नु यसको मुख्य पहिचान हो । समयमै उपचार नभएमा यसले फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा असर गरी अङ्ग फेल हुने वा मृत्युसमेत हुनसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
