चितवन । भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई उपचारसँगै योग कक्षा सञ्चालनमा ल्याइएको छ । अस्पताललले अघिल्लो हप्तादेखि योग कक्षा सञ्चालनमा ल्याएको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले अस्पतालमा भर्ना भएका बिरामी र तीनका आफन्तहरूलाई योग, प्रणायम, योगासन र मेरिटेसनका कक्षा सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन भईरहेको छ ।
हाल दैनिक २० देखि २५ जनाले यो कक्षामा सहभागिता जनाउने गरेको उनले बताए । “अस्पतालमा उपचारका लागि लामो समयसम्म बस्नुपर्ने बिरामी र कुरुवालाई लक्षित गरी निःशुल्क रूपमा यो सेवा दिइएको हो ।” उनले भने ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलले योग कक्षा बिरामी र बिरामीका आफन्तलाई मात्रै नभएर बिस्तारै कर्मचारीहरूलाई पनि दिइने बताए । सुरुआतमा मेडिकल वार्डका बिरामीलाई योग कक्षामा जोडिएको र बिस्तारै शल्यक्रिया गरेकाबाहेक अन्य बिरामी र तीनका आफन्तलाई पनि जोड्ने बताए ।
“उपचार भनेको सुई लगाउने र औषधि खुवाउने मात्रै नभएर यसमा योग र नियमित व्यायाम पनि पर्दछन् ।” डा. पौडेलले भने । योगले मानिसलाई फूर्तिलो बनाउने र उपचारमा समेत सहयोगी बन्ने र अस्पतालको बसाई छोटो बनाउन पनि योग आवश्यक हुने उनको भनाइ छ ।
अहिले अस्पतालले निःशुल्क नाम दर्ता र कक्षा सञ्चालन गर्दै आएको छ । डा पौडेलले भने, “अस्पतालका कर्मचारी एक जना योग सिकेर आउनुभएको छ । अहिले उहाँले कक्षा सञ्चालन गर्दै हुनुहुन्छ ।” बिस्तारै आयुर्वेद अस्पताल, पतञ्जली जस्ता संस्थासँग जोडिएर यस्ता कक्षाहरू नियमित रूपमा सञ्चालन गरिने उनले जानकारी दिए ।
