अछाम । जिल्लामा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी(छाउपडी)भएको समयमा गोठमा बस्ने गर्दछन्।
जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन्। जिल्लास्थित सरोकार भएका निकायद्वारा मङ्गलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण गरिएको पाइएको हो। आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवीदेउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताएका छन्।
अनुगमनका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गर्नुभयो। छाउगोठ नभत्काए पालिकाबाट पाउने सेवासुविधामा रोक लगाइने उहाँको भनाइ छ।
आजै जिल्लाको पञ्चदेवल विनायक–८ बारलाको सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ३६ वर्षीया रत्ना भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको घर नजिकै त्रिपाल टाँगी बनाइएको छाउगोठमा सुतिरहेको अवस्थामा टहराभन्दा माथि भिरबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्युु भएको थियो। सोही त्रिपालमा महिनावारी भएर सुतिरहेकी रत्ना गम्भीर घाइते हुनुभयो। रत्ना आफ्नो माइती घर बारला जानुभएको थियो।
यसैबीच,महिनावारी कानुनले वर्जित गरेको विषय हो। महिनावारीको नाममा कुनै पनि विभेद् गरेको पाइएमा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो। तत्काल जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा छाउगोठ भत्काइने उहाँले जानकारी दिनुभयो।
यस क्षेत्रमा महिनावारी भएका बेला दूध,दही खान नदिने चलन अझै कायम। गाई र भैँसीको दूध,दही र मोही महिनावारी भएका बेला दिँदा गाईवस्तु बाँझो हुन्छन् भन्ने अन्धविश्वासले महिला तथा किशोरीलाई दूध दिइँदैन।
