काठमाडौँ । गोँगबुस्थित नयाँबसपार्कमा चाडपर्वमा घर जाने यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिकाले यात्रु सहायताकक्षबाटै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो।
काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका सिनियर अहेव दमनबहादुर नेगीले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्यजाँच सुरु गरेको जानकारी दिनुभयो । महानगरपालिकाले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको सिअहेव नेगीले बताउनुभयो। उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।
उक्त कक्षको आज काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारी र काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुभारम्भ गर्नुभयो।
