कार्तिक २८, २०७९
विनिता श्रेष्ठ, माडी । माडी नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुत्केरी भएका महिलाहरुलाई पोषण खर्च र विद्यार्थीहरुको यातायात सेवा निःशुल्क गर्ने निर्णय गरेको छ ।
नियमित कार्यपालिका बैठकले नगर क्षेत्रमा सुत्केरी भएका सबै महिलाहरुलाई पोषण खर्चबापत ५ हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले सुत्केरी स्याहार कार्यक्रम सञ्चालन कार्यविधि–२०७९ पारित गर्दै माडी नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा प्राप्त गर्ने सबै महिलाहरुलाई जनही ५ हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । यसअघि माडी नगरपालिका वडा नं–१ र ६ ले वडास्तरबाट सुत्केरी पोषण खर्च दिने लोकप्रिय कार्यक्रम ल्याएकोमा नगर कार्यपालिका बैठकले सो कार्यक्रम नगर क्षेत्रभर सबै प्रसूतिहरुमा लागू गर्ने निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले जानकारी दिए ।
यो कार्यक्रम गत श्रावण १ गते यता प्रसूति भएका महिलाहरुमा लागू हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले बताए । यसका लागि सुत्केरी भएको एक महिनाभित्रै आवश्यक कागजात स्वास्थ्य संस्थामा पेश गर्नुपर्नेछ ।
