पेरिस । आगामी जनवरीदेखि फ्रान्समा युवाहरुले निःशुल्क कन्डम पाउने भएका छन् । यौन संक्रमित रोग (एसटीआई)हरुको रोकथाम एवं न्यूनीकरणका लागि सरकारले यो कदम उठाउन लागेको हो ।
फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले बिहीबार युवाहरुको स्वास्थ्यबारे आयोजित एक कार्यक्रममा यस नयाँ स्वास्थ्य उपायको घोषणा गरेका बीबीसीले लेखेको छ ।
उनले भनेका छन्, “अब युवाहरुले औषधि पसलहरुबाट सजिलै निःशुल्क कन्डम प्राप्त गर्न सक्नेछन् ।“
यस कदमलाई यौन रोग रोक्ने एउटा सानो क्रान्तिकै रुपमा लिइएको छ । सन् २०२० र २०२१ मा फ्रान्समा राष्ट्रिय स्तरमा एसटीआई ३० प्रतिशतको दरले बढेको सरकारी तथ्यांक छ ।
सन् २०१८ मा फ्रान्समा डाक्टर वा मिडवाइफका सिफारिसमा पसलबाट किनिएका कन्डमको पैसा पछि फिर्ता दिने नीति पनि कार्यान्वयन भएको थियो । फ्रान्सले पहिलेदेखि नै महिला तथा १८ वा सो वर्षमुनिका किशोरीहरुलाई निःशुल्क निरोधक उपलब्ध गराउँदै आएको छ ।
