दमक ।दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा गतवर्ष आठ सय ५६ जनाले उपचार पाएका छन् ।
विसं २०५२ देखि सञ्चालनमा आएको सो केन्द्रबाट झापासहित इलामको दक्षिणी तथा पूर्वी मोरङका सर्प डसाइका बिरामीले उपचार पाउँदैआएका छन् । केन्द्रका सिनियर प्राविधिक खेम अधिकारीले आर्थिक वर्ष २०७९÷८० को अवधिमा आठ सय ५६ जनाले उपचार सेवा पाएको जानकारी दिनुभयो । तीमध्ये १० प्रतिशत भने विषालु सर्पडसाइका रहेको पाइएको उहाँले जानकारी दिनुभयो । उपचार केन्द्रमा आएका बिरामी मध्ये गोमन, करेत तथा पिटभाइपर लगायत विषालु सर्पको डसाइको पाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार वर्षायाममा बढी सर्प डसाइको घटना हुने र त्यसैबाट अकालमा मृत्यु हुने अवस्था भने विस्तारै हट्दै गएको छ । उहाँले भन्नुभयो, “सर्पले डसेपछि जतिछिटो अस्पताल तथा यस्ता उपचार केन्द्रमा लैजान सके शतप्रतिशत त्यस्ता बिरामीको उपचार सम्भव हुन्छ । ”
केन्द्रमा चालु वर्षको साउन महिनामा एक सय ७४ जना र भदौ १० गतेसम्म ३३ जनाले उपचार पाएको केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीले बताउनुभयो । केन्द्रमा हाल ६ जना प्राविधिक स्वास्थ्यकर्मी उपचारमा संलग्न छन् । इन्चार्ज भण्डारीका अनुसार यस केन्द्रबाट बर्सेनि एक हजारका हाराहारीमा सर्पडसाई बिरामीले सहुलियत सुविधा पाउदैआएको छन् ।
केही वर्षयता सर्पडसाइको घटना उपचारका लागि आउने क्रम भने घट्दै गएको उहाँको भनाइ छ । जिल्लामा दमक र चारआलीमा भने नेपाली सेनाले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ भने दुई वर्षदेखि जिल्लाकै कन्काईस्थित सुरुङ्गा कोटीहोममा पनि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
उपचार केन्द्र दमकका पुराना प्राविधिकसमेत रहनुभएका इन्चार्ज भण्डारीले सबैभन्दा धेरै सर्पडसाइका बिरामी दमक र चारआलीमा आउने गरेको र त्यहाँ आउने सबैजसो उपचारपछि निको हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले आकस्मिकसँगै जटिल किसिमका सर्पडसाइका बिरामीलाई सघन उपचार कक्षमा भर्ना गरेर ज्यान बचाउने काम गर्दै आएका छौ ।” नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सर्पडसाई उपचारका लागि सरकारले निःशुल्क स्नेक भेनम उपलव्ध गराउँदैआएको बताउनुभयो । सर्पडसाइबाट गाउँघर, ग्रामीण बस्तीका अति विपन्न मानिस बढी प्रभावित हुँदैआएको पाइएको छ ।
घाँसपात, दाउरा खोज्दा, कुखुरा तथा बङ्गुरपालन गरी दैनिकी गुजारा गरिआएका समुदायनै सर्पडसाइबाट प्रभावित हुँदैआएको सर्पडसाई केन्द्र दमकका प्राविधिक गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो ।
यसैबीच, गौरीगञ्ज गाउँपालिकाले रेडक्रस दमक उपशाखासँग सम्झौता गरी आफ्नो पालिकाका सबैका लागि सर्पडसाइको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । गाउउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पालिकाले रु तीन लाख बजेट व्यवस्था गरिएको बताउनुभयो । गत वर्षदेखि सुरु भएको सो कार्यक्रमबाट पालिकाका नागरिकले सर्पडसाइको उपचार निःशुल्क पाउँदैआएका छन् ।
उपशाखाले सर्पडसाइसँगै रक्तसञ्चार सेवा पनि एकैसाथ सञ्चालन गरिआएको छ । यस्तै, रेडक्रस अभियानसँग जोडिएको नागरिकको स्वास्थ्य उपचारमा पहुँच बढाउन वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा सञ्चालित ‘किओएच बाल अस्पताल’लाई आफना भवन तीस वर्षका लागि निःशुल्क उपलव्ध गराएको छ ।
तीन महिनादेखि सञ्चालनमा आएको प्रदेशस्तरिय सो अस्पतालमा अहिले दैनिक दुई सय बढी बिरामी उपचार गर्न आउने गरेका छन् । रासस
