चितवन । स्वास्थ्य सेवा जनताको घरदैलोमा पु¥याउने सामाजिक उत्तरदाईत्व अनुसार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका वडा नं.२२ को आयोजना साथै नेशनल सिटी हस्पिटल भरतपुरको प्राविधिक सहयोगमा आज शनिबार यसै वडा नं. २२, पटिहानीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

आयोजित शिविरको मेडिकल टीममा वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.विनुमा श्रेष्ठ ,डा. मन्जु पाण्डेय, फिजिसियन तथा नेफ्रोलोजिष्ट डा.शुष्मा थापा, बालरोग विशेषज्ञ डा.दामोदर तिवारी, कार्डियोलोजी डा.पुरण गुरूङ र नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा.मनोज केसीले विरामीहरुको स्वास्थ्य चेकजाँज गर्नुभएको थियो ।

हस्पिटलका व्यवस्थापक विक्रम अधिकारीको अनुसार शिविरमा ,स्त्री तथा प्रसूतिरोगका विरामी ४० जना, हाडजोर्नीका ४० जना, मेडिसिन,कार्डियोलोजी, नेफ्रोलोजीका ६० जना, बालरोगका ५० जना गरि जम्मा १९० जना विरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।

शिविरमा चेकजाँच गराएकाहरुको थप उपचार गर्न नेशनल सिटी हस्पिटल आहुनपरेमा संस्थागतरुपमा २० प्रतिशत छूट दिने व्यवस्था गरिएकोबारे हस्पिटल व्यवस्थापक अधिकारीले बताउनुभएको छ ।

