चितवन । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा पुनः चितवनका सरोज ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ । श्री कलेज अफ टेक्नोलोजी चितवनका कार्यकारी अध्यक्ष ढकाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनु भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.शैलेसमणि पोखरेलले उद्घाटन गर्नुभएको एसियाको काठमाण्डौंमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनले ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै उपकुलपति डा.पोखरेलले विश्वविद्यालय निजी क्याम्पसहरुलाई दिगो बनाउन सधैं प्रतिबद्ध रहेको भन्दै नेतृत्वको हिसाबले अध्यक्ष ढकालले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
विश्वविद्यालयका रजिष्टार निलमणी पोखरेलले निजी क्याम्पसहरुलाई मर्न नदिने बताउनुभयो । पछिल्लो संक्रमणकालिन अवस्थामा खस्किएको शिक्षण संस्थाहरुलाई पुनर्ताजगी दिन ढकालले योगदान पु–याएको भन्दै पुनः नेतृत्वका लागि आग्रह गरेपछि आफू अध्यक्ष बनेको ढकालले जानकारी दिनुभयो । समितिको महासचिवमा केएन शर्मा पुनः निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा पूर्व अध्यक्षहरुका तर्फबाट राजन खत्रीले पहिलो कार्यकालमा ढकालले उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गर्नुभएको थियो । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त स्वास्थ्य संकायका क्याम्पसहरुको छाता संस्था एसिया हो । सरकार र चिकित्सा शिक्षा आयोगले नयाँ नीति बनाएसँगै देशैभरका क्याम्पसहरु प्रभावित भएर बन्द हुने अवस्थामा पुगेका थिए ।
ढकालको नेतृत्वमा गरिएको संघर्षपछि सरकारपछि हटेर एसियाको माग आंशिक सम्बोधन गरेको थियो । यससँगै क्याम्पसहरुका आंशिक समस्या समाधान भएका छन् । यो आन्दोलनलाई निर्णायक बनाउन पनि पुनः ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको खत्रीले जानकारी दिनुभयो ।
एसियाभित्र ३४ वटा क्याम्पसहरु रहेका छन् । निर्वाचित भएपछि गृह जिल्ला चितवन आउनु भएका ढकाललाई आज श्री कलेज अफ टेक्नोलोजीले विशेष सम्मान कार्यक्रम गरेको थियो । सो अवसरमा क्याम्पसका प्रिन्सिपल नन्दकिशोर भट्ट, भाईसप्रिन्सिपल वविता घिमिरे (अधिकारी) लगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीको उपस्थिति थियो ।
भरतपुरको नेशनल सिटी अस्पतालका सञ्चालक समेत रहनु भएका ढकालले देशभरका क्याम्पसहरुलाई पुर्ववत अवस्थामा सञ्चालनमा ल्याउने गरी सरकार र आयोगलाई दवाव दिने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । देशभित्रका क्याम्पसहरु बन्द हुने र यहाँका विद्यार्थी विदेश पलायन हुँदा अरबौं रुपैयाँ बाहिरिएको भन्दै यसलाई रोक्न सरकार लाग्नुपर्ने बताउनुभयो । यस्तै अवस्थामा रहेमा केही वर्षभित्र नेपालमा स्वास्थ्यको जनशक्ति अभाव हुने उहाँको भनाई छ ।
