बुलिङटार । नवलपुर जिल्लाको पहाडी भेग बुलिङटारमा निःशुल्क पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविर सम्पन्न भएको छ । दुईदिन संचालन गरिएको शिविरमा करिब ८० जना महिलाहरुले पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य जाँच गर्नुभएको हो ।
बुलिङटार गाउँपालिका ,नवलपुर र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को सयुक्त आयोजनामा संचालित शिविरमा वरिष्ठ मेडिकल अंको नर्स अयोध्याय पाठक , बरिष्ठ स्वास्थ्यकर्मी अशोक कुमार श्रेष्ठ , मेडिकल अंको नर्स प्रकृति पौडेल ,धन बहादुर बाचे र नवीन कुमार महत्तो लगाएतको मेडिकल टीमले सेवाग्राहीहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो ।
शिविरमा पाठेघरको क्यान्सर परीक्षण गर्दा ९ जनामा स्वास्थ्य समस्या देखिएको थियो । जस मध्ये २ जनालाई शिविर मै थर्मो क्वागुलेशन अर्थात् नराम्रो रक्त कोशिकालाई त्यही मारी उपचार गरिएको थियो । त्यस्तै २ जनालाई पाठेघरको मुखको क्यान्सर सम्बन्धी बायोप्सीको लागि रिफर गरिएको साथै बाँकी ५ जनालाई शिविर मै थर्मो क्वागुलेशन गर्न नमिलेको कारण थप उपचारका लागि भरतपुर पठाइएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बाल्दै बुलिङटार गाउँपालिका ३ नं. वडाका अध्यक्ष बिष्णु बिर जर्गा मगरले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस खाले शिविरलाई निरन्तरता दिनेबारे विश्वास व्यक्त गर्नुभएको थियो ।
शिविरको प्राविधिक सहयोग भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनले गरेको हो ।