चितवन । चितवनको विकट कान्दा गाउंँमा स्वास्थ्य सेवाको पहुंँच पुगेपछि चेपाङ्ग समुदायमा खुशी छाएको छ । २०६७ सालमा चितवनको यही विकट गाउंँ कान्दामा ८ जना चेपाङ्ग परिवारले बिषालु च्याउ खांँदा उपचारको अभावमा ज्यान गुमाउनु परेको थियो । अहिले प्राथमिक तहको उपचार सुविधा पाउँदा गाउँलेहरु निकै खुशी भएका हुन् । उनीहरु भन्छन्,‘सायद अब सामान्य समस्याले उपचार अभावमा मरिदैन जस्तो लाग्छ ।’ यहांँ बिशेषगरी चेपाङ्ग समुदायको बसोबास छ ।
गाउँमा आधारभूत उपचार सुविधा मात्र आएको छैन, मोटरबाटो पनि नजिक नजिक पुगेको छ । स्थानीय चेकराम प्रजा भन्नुभयो ,‘गाउँमै स्वास्थ्य चौकी आयो, मोटरबाटोपनि छिटै आउँछ भन्ने विश्वास छ ।’ कान्देश्वरी विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर प्रजा च्याउ खाएर मृत्यु भएको घटना पछि गाउँमा चेतना र सुविधाहरु बढ्दै गएको बताउँनुभयो । पछिल्ला समय विकास संँगै यस समुदायमा चेतनाको स्तर पनि बढ्दै गएको उहांँको भनाई छ । चौकीमा अमृता चौधरी अहेबका रुपमा कार्यरत हुनुहुन्छ ।
अहेब अमृता भन्नुहुन्छ‘आधुनिक उपचार विधिबाट टाढा रहेका र सकेसम्म घरगाउँमै प्राकृतिक उपचारमा रमाउनेहरु अहिले त खै खै प्रेसर जाँचौ भन्दै आउनुहुन्छ ।’ गाउँका मानसिहरु विरामी नै नभएपनि स्वास्थ्य चौकीमा आउने बस्ने, कुराकानी गर्ने, विभिन्न जिज्ञासा राख्ने गर्दा आफूलाई खुशी लाग्ने गरेको उहांँले बताउनु भयो । यहाँ मासिक एक सय जना जतिले सेवा लिने गरेको उहांँले जानकारी दिनुभयो । यो स्वास्थ्य चौकीमा उपचार नभए ४ घण्टाको दुरीमा रहेको वासवाङ स्वास्थ्य केन्द्र अर्थात यौरालिटारसम्म जानुपर्ने हुन्छ । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले स्वास्थ्यको पहुँचबाट दुःखी गरिव वञ्चित नहुने उद्धेश्यसहित यस गाउंँमा स्वास्थ्य चौकी स्थापना गरिएको बताउनु भयो ।