दमौली । स्वास्थ्य सेवा विभाग काठमाडौँले रु एक करोड मूल्य बराबरको चारवटा स्वचालित मेसिन प्रदान गरेपछि तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा प्रयोशाला परीक्षण सहज भएको हो । प्रयोगशाला मेसिन थपिएपछि नयाँ दुई जना जनशक्ति थप गरिएको छ । हाल आठ जना जनशक्ति कार्यरत छन् । हाल ब्लड बैंक रहेको स्थानलाई अन्यत्र स्थान्तरण गरी प्रयोगशाला कक्षलाई विस्तार गर्न लागिएको अस्पतालका प्रमुख परिवर्तन डा बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामीले ल्यावको रिर्पोट लिनका लागि पाँच घण्टा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले दुई घण्टामा सेवा दिन सकिने भएको छ । प्रयोशालाको रिर्पोट छिटो दिन थालेपछि टाढाबाट उपचारमा आउने बिरामीलाई सहज भएको छ ।
अस्पतालमा अहिले दैनिक चार सयको हाराहारीमा बिरामी आउने गरेका छन् । जसमध्ये दुई सयदेखि दुईसय ५० सम्म दैनिक प्रयोगशाला परीक्षण हुने गरेको छ । पछिल्ला समय अधिकांश ज्वरोका बिरामी हुने गरेको उहाँले बताउनुभयो । ज्वरोका बिरामी बढे पनि डेङ्गी सङ्क्रमण भने देखिएको छैन ।
अस्पतालले भिडियो एक्सरे, एक्सरे, एमडिजीपीसहितको चिकित्सक सेवा, बालरोग, स्त्रीरोग, हाडजोर्नी विशेषज्ञसहितको सेवा प्रवाह गरिरहेको छ । साथै दाँत, आँखा उपचार सेवा, बिहानैदेखि ओपिडी सेवा पनि सञ्चालन गरेको छ ।
अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला कास्की, लमजुङ र गोरखाका केही भेगका बासिन्दाले उपचार सेवा लिदै आएका छन् । रासस
