चितवन । नेपाल पत्रकार महासंघ चितवन को आयोजनामा स्वास्थ्य पत्रकारिता तालिम सम्पन्न गरेको छ । भरतपुर अस्पतालसँगको सहकार्यमा एकदिने स्वास्थ्य पत्रकारिता तालिम दिइएको हो । पत्रकारलाई स्वास्थ्य पत्रकारितामा थप व्यवसायिक बनाउन उक्त तालिम दिईएको पत्रकार महासंघ चितवनले जानकारी दिएको छ ।
स्वास्थ्यसम्बन्धी समाचार लेखनमा पत्रकारहरुलाई स्वास्थ्य बिषयमा जानकारी दिलाउनको लागि तालिम आयोजना गरिएको पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले जानकारी दिए।
तालिममा वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्र र भरतपुर अस्पतालका फरेन्सिक चिकित्सक डाक्टर कश्यप श्रेष्ठले प्रशिक्षण दिएका थिए । डाक्टर श्रेष्ठले स्वास्थ्यकर्मी र पत्रकारबीचको असमझारी हुंँदा जनमानसमा अन्योल सिर्जना हुने बताए । स्वास्थ्य बिषयमा प्राविधिक शब्दहरु नबुझ्दा समस्या आउने उनको भनाई छ ।
्प्रशिक्षण दिंँदै वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रले स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकार थप जिम्मेवार संवेदनशील हुनुपर्ने बताए । स्वास्थ्यसम्बन्धी समाचार सङ्कलनका क्रममा स्वास्थ्यकर्मी या विषय विज्ञले अङ्ग्रेजी भाषाको बढी प्रयोग गर्ने हुँदा त्यसको नेपाली अर्थ बुझ्न आवश्यक रहेको उनले बताए।
तालिमको सुरुवातमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको समाचार सङ्कलनमा पत्रकारहरु गहिराईमा पुग्न नसक्दा थुप्रै चुनौतिको सामना गर्नुपरेको बताए । पत्रकारले स्वास्थ्यकर्मीको भाषा र यस बिषयमा पर्याप्त ज्ञान नहुंँदा अन्योल सिर्जना हुने बताए । यस किसिमको तालिमले चितवनका पत्रकारलाई स्वास्थ्य पत्रकारिता गर्न थप मदत पुग्ने बताए ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले एक दिने तालिम भए पनि यसबाट पत्रकारहरुलाई ज्ञान प्राप्त हुने विश्वास लिए। तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
