भरतपुर । चितवनस्थित भरतपुर अस्पताल ‘सरकारी’ले बिरामी र बिरामीका आफन्तका लागि सहज सेवाका लागि निःशुल्क सटल (छोटो दुरीमा चल्ने)बस सञ्चालन गर्ने भएको छ । फागुन १ गतेअर्थात् बिहीबारबाट बस सञ्चालनको तयारी गरिएको हो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा.कृष्णप्रसाद पौडेलका अनुसार हरेक दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म बस सञ्चालन गरिने छ । तीस जनाको क्षमता रहेको यस बसमा बिरामी र बिरामीका आफन्तले सेवा लिन सक्नेछन् ।
अस्पतालको नर्सिङ् विभागमा चालु अवस्थामा रहेको यो बसलाई सटल बसका रुपमा सञ्चालन गर्न लागिएको हो । बस भरतपुर अस्पतालबाट मालपोत चोक (बाइपास रोड), जिल्ला प्रशासन कार्यालय चोक, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशाल चोकदेखि बाइपास रोड हुँदै पुनः भरतपुर अस्पतालसम्म आइपुग्ने छ ।
चितवन जिल्लासहित करिब १९ जिल्लाबाट यस अस्पतालमा उपचारका लागि आउने विरामी र तिनका आफन्तजनलाई अस्पतालको यो यातायात सेवाले अझ सहज हुने अस्पताल स्रोतको भनाइ छ।
