काठमाडौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताउनुभएको छ।
प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित‘स्वास्थ्य सेवा,पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।
“सेवा सुविधा थप गर्ने भन्ने वित्तिकै अर्थतन्त्रसँग जोडिन्छ,देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेको छ,त्यतातिर लागौँ,उहाँहरुको सेवा सुविधा बढाउन तिर लागौँ,”पूर्वमन्त्रीसमेत रहनुभएका उहाँको भनाइ थियो।
घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा रु छ खर्ब थप गर्न सकिने भन्दै आफू कानुनमन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो।“म कानुनमन्त्री हुँदा घरेलु मदिरालगायत थुप्रै क्षेत्रलाई करका दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागेँ तर सफल हुन सकिन,”उहाँको भनाइ थियो।
