नयाँदिल्ली, (रासस÷एएनआई÷सिन्ह्वा) : भारतमा बुधबारको तुलनामा कोरोना सङ्क्रमण १९ प्रतिशतले बढेको छ । बितेका २४ घण्टामा २० हजार एकसय ३९ जना सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।
हिजोको तुलनामा आज तीन हजार दुईसय ३३ जना कोरोना सङ्क्रमित बढेका छन् । हिजो प्रकाशित विवरणअनुसार कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार नौ सय छ पुगेको थियो । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा एक लाख ३६ हजार ७६ सक्रिय सङ्क्रमित छन् । यो कुल सङ्क्रमितको ०.३१ प्रतिशत हो । करिब चार महिनापछि १३ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।
पछिल्लो एक दिनमा १६ हजार चारसय ८२ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख २८ हजार तीनसय ५६ पुगेको छ ।
बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय ५७ जनाको मृत्यु भएको छ । बुधबार तीन लाख ९४ हजार सातसय ७४ कोरोना परीक्षण गरिएको थियो । हालसम्म ८६ करोड ८१ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।
