झापा । झापाको गौरादह–१ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय उद्यमी कृषि सहकारी संस्थाको आयोजना शिविर सम्पन्न भएको हो । शिविरमा दमकको एड्भान्स अस्पतालको प्राविधिक सहयोग तथा गौरादहस्थित पूर्वाञ्चल कृषि क्याम्पसको समन्वय रहेको थियो ।
गौरादह–१ का वडाध्यक्ष नरेन्द्र भण्डारीले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील भएको भन्दै चाँडै नै गौरादहमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइने बताउनुभयो ।
शिविरमा विर्ताज्योति आँखा अस्पतालको तर्फबाट आँखा जाँच तथा उपचारसम्बन्धी सेवा प्रदान गरिएको थियो । शिविरमा तीन सय ५० भन्दा बढी बिरामीले सेवा लिएका थिए । चिकित्सक गरिमा भण्डारी, डाक्टर विकास सुवेदी, डा मनिषा दाहाल, डा अभिषेक शाहलगायतले महिला तथा प्रसूति, सामान्य चिकित्सा, दन्त परीक्षण एवं उपचारलगायत सेवा प्रदान गर्नुभएको थियो । रासस