प्रदेश सरकारको प्रदेश नम्बर ५ को तात्कालिन मन्त्रिपरिषद् मिति २०७६ मंसिर २ को निर्णय अनुसार मलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको महत्वपूर्ण जिम्मेवारी तोकिएको थियो । करिब दुईबढी कार्यकाल पश्चात प्रदेश सरकार मन्त्री परिषदको मिति २०७८।०६।१४ को निर्णयअनुसार अस्पताल प्रमुखको जिम्मेवारी परिवर्तन गरिएकोले म यो भुमिकावाट बिदा भएको थिए । तात्कालिन लुम्बिनी अञ्चल अस्पतालको रेडियोलोजी विभागमा प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट एघारौं तहको पदमा कार्यरत मेरो समायोजनको क्रममा संघ अन्तर्गत राज्यलाई आवश्यकताको आधारमा कान्ति बाल अस्पतालको सोही पदमा पदस्थापना गरिएको थियो ।
म यस क्षेत्रकै स्थायी बासिन्दा, सरकारी कामकाजको शिलशिलामा देशका अति दुर्गम हिमाली क्षेत्रको हुम्ला, त्यसपछिको सरुवा भएपछि पहाडी गुल्मी जिल्लामा सेवा गर्ने अवसर पाएंँ । आफ्नो अध्ययन लाई निरन्तरता दिँदै रेडियोलोजी विषयमा एम.डि. उपाधी लिए पश्चात पुर्वको तराई क्षेत्र विराटनगर शहर हुँदै यो अस्पतालमा कन्सल्टेन्ट रेडियोलोजिष्ट भएर आएको पनि करिब नौ बर्ष पुरा भएको थियो ।
मैले आफ्नो समायोजनलाई स्वभाविक रुपमा लिई आफू प्राज्ञिक क्षेत्रमै अघि बढ्नु राम्रो हुने देखि काठमाडांै तर्फ जाने तयारीमै रहेको बेला विशुद्ध प्राविधिक क्षेत्रमा काम गर्न रुचाउने मलाई यस क्षेत्रको महत्वपूर्ण ठाउँमा रहेको अस्पताललाई प्रदेशकै एउटा गौरवको रुपमा अगाडी बढाउन उत्प्रेरणा दिई यसमा सबै खाले राजनैतिक प्रतिबद्धताको सहयोग हुने प्रतिबद्धताका साथ प्रशासनिक जिम्मेवारी सुम्पिएको थियो ।
यसमा सायद म वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट दशांै तहमा कार्यरत छँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको २०७२ जेष्ठको निर्णय अनुसार अस्पताल प्रमुख भई करिब १० महिनाको जिम्मेवारीमा रहँंदा सय बेडमा चालु अस्पतालमा ७१ बेड थप ( प्रसूति कक्षको माथि, इमर्जेन्सीको माथि एन.आई.सी.यू ) समेत गरी विभिन्न सेवा र संरचनामा थप विस्तार गरेर सेवाग्राहीले फरक महशुस हुने गरी अस्पताललाई परिवर्तन उन्मुख गराएको पृष्ठभुमि र अस्पताल भविष्यमा कस्तो हुनुपर्दछ , भन्ने विषयमा मैले प्रस्तुत गरेको स्पष्ट कार्ययोजनाको प्रभाव थियो जस्तो लाग्छ । जुन कुरा अहिले पनि सबैले देख्नुभएको छ ।
स्मरण रहोस् २०७२ सालमा मैले अस्पताल प्रमुखको कार्यभार लिंँदा बुटवल क्षेत्रमा पहिलो नै भन्नु पर्दछ । हाम्रो अस्पतालमा ६ बेडको (आइ.सी.यु.) सेवा शुभारम्भ भएको थियो । यो सरकारी अस्पताल २०५० सालमा सय वेडको स्तरमा दरबन्दी कायम गर्दै चालु भएकोमा २०६० सालमा अस्पताल विकास समितिको तर्फबाट स्रोत व्यवस्थापन गरी सय बेड थप गर्ने स्वीकृित पाएतापनि इमर्जेन्सी वेड समेत जोड्दा १२ बर्षमा ५५ वेड मात्र थपिएको अवस्था थियो, जबकि विकास समिति तर्फ स्वीकृत थप सय वेडका लागि कर्मचारी भर्ना मै कार्यरत रही आएका थिए ।
२०२४ सालमा निर्माण सम्पन्न भएको करिब ५० वर्ष पुरानो भवन र २०६७ सालमा गणतन्त्र नेपालका प्रथम सम्माननीय राष्ट्रपति डा.रामवरण यादवबाट उद्घाटन गरिएको अस्पतालको अप्रेशन कक्ष भवन बाट नै अधिकांश सेवाहरु चलेका थिए ।
यो भवनमा माथिल्लो तलामा ४५ बेडको क्याबिन निर्माणको काम डा.कृष्ण प्रसाद खनाल पूर्व मेसुको कार्यकालमा शुरु भएर हाल निर्माण सम्पन्न भई त्यति बेला मेरो कार्यकालमा संचालनमा आएको थियो । यस अर्थमा यो भवनमा भएको संरचना तर्फको विस्तारको पहिलो श्रेय मैले लिन पाउंँदा गर्व लाग्दछ ।
त्यतिखेर सरकारवाट स्वीकृत सय वेड क्षमताको दरबन्दीलाइ तीनसय बेड स्तर बनाउने आफै धेरैनै लागेर काम गरेको सम्झना आउँछ । यसरी नै अब भविष्यमा हालका स्थायी संरचनामा व्यवस्थापन गर्न सकिने पांँचसय बेडका अतिरिक्त मास्टर प्लानिङ पछि डिपिआरको कार्य सम्पन्न भएको १० तले
भवनमा हुने सातसय बेड गरि जम्मा बाह्रसय बेडलाई चाहिने जनशक्तिको लागि आवश्यक ओएम सर्भे गराई सम्बन्धित मन्त्रालयमा पठाएको छु । आशा छ कार्य अगाडि बढ्ला । दोश्रोपटक अस्पतालको नेतृत्वमा आएपछि अस्पताललाई विशिष्टिकृत सेवा दिने रिफरल अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णय अनुसार अस्पताल कम्पाउण्ड वरिपरी रहेका बाहिरी व्यक्तिका सटरहरु भत्काउने निकै चुनौती पूर्ण कार्य सफल भयो । सो क्रममा म माथि भौतिक आक्रमणको प्रयास समेत भएको हो ।
लगत्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावका कारण उपचार व्यवस्थापन कार्य अस्पतालको मौजुदा संरचनामा सम्भव थिएन । तसर्थ उक्त चुनौतीपूर्ण कार्यको व्यवस्थापनको लागि बुटवल १० धागो कारखानाको व्लकमा ३६ बेडको एचडियु र १६ वेडको आईसियु निर्माण गरेर संचालन तथा सोको लागि जनशक्ति व्यवस्थापन लगायतका कार्यहरु त्यस्तै कोरोना भाइरसको संक्रमणको कारण अन्य सेवा सुचारु गर्न अस्थायी ओपिडि निर्माण अस्पताल भित्रै पिसिआर. प्रयोगशाला संचालन, संक्रमितको ओटि कक्ष निर्माण तथा डायलाइसिस गर्नुपर्ने संक्रमितहरुको लागि डायलाइसिस कक्षहरुको निर्माण लगायतका कार्यहरुको कुशलतापूर्वक व्यवस्थापन गरियो ।
संक्रमितको उपचार तथा व्यवस्थापनमा २४ सै घण्टा खट्ने क्रममा शारिरीक तथा मानसिक थकानका बाबजुद काम गरिरहंँदा कतैबाट भएको दुर्घटनाबस संक्रमणले ज्वरो आउँदा २०७७ असोज ८ गते मलाई कोभिड पुष्टि भएको थियो । जसको कारण शरिरमा भएको अक्सिजनको अभावले आफंैले बनाएको आईसीयु सम्म पुगेर संक्रमणलाई जितेर मैले निरन्तर सेवामा लाग्ने मौका पाएको छु ।
अबको चुनौती सातसय वेडको नयाँ विल्डिङ बन्ने भयो भने चलिराखेका ओपीडीलाई ईलाका प्रशासन कार्यालय रहेको बनको जग्गा, जो हामीलाई यही कार्यकालमा प्राप्ति भएको छ । त्यहाँ धुलिखेल अस्पताल मोडेलको ओपीडी बिल्डिङ बनाँउदा उपयुक्त हुनेछ । मैले आफ्ना कार्यकालमा सम्पादन गरेका विवरणहरु प्रस्तुत गर्दा यी सम्पुर्ण विकास सम्बन्धिका गतिविधि र परिकल्पनालाई व्यवहारमा उतार्ने जिम्मेवारीको सम्पुर्ण अपनत्व हालको उर्जाशिल अस्पताल विकास समितिलाई जान्छ । म सँगै यो अस्पतालको स्वरुप फेर्न, सेवाको स्तर बदल्न तथा चुनौति मोलेर कोभिड संकटमा काम गर्ने सहकर्मी चिकित्सक मित्रहरु, नर्सिङ स्टाफ, प्यारामेडिक्स, प्रशासनिक कर्मचारी, लगायत सबैप्रति हार्दिक
धन्यवाद ! यस अस्पताललाई माया गर्ने सम्पुर्ण सचेत नागरिक समुदाय, पत्रकार मित्रहरु, र सम्पुर्ण जनसमुदाय प्रति म सधै नतमस्तक छु र रहनेछु । मेरो स्वास्थ्यले साथ दिँदासम्म चिकित्सकीय पेशामा निरन्तर लाग्ने प्रण गरेको छु ।
