परिचय
संसारमा ढाड नदुख्ने मान्छे सायदै कोही होलार ! विभिन्न वैज्ञानिक अध्ययनहरुले संसारका झण्डै ८० प्रतिशत मान्छेलाई जीवनको कुनै न कुनै समयमा ढाड दुखेको हुन्छ भन्ने तथ्य देखाउँछ । ढाडको दुखाइ टाउको दुखाई पछि हुने दोस्रो नम्बरको स्नायु र नशा सम्बन्धिको रोगमा पर्दछ । धेरैजसो ढाडको दुखाइ केही दिन वा हप्तामा उपचार पछि ठिक हुन्छ र ढाडको दुखाई वयस्कदेखि वृद्धसम्म सबै क्षेत्र, वर्गका मानिसहरुलाई हुने गर्दछ । संसारभरि कुनै पनि समयमा झण्डै ८ प्रतिशत मानिसलाई ढाड दुखेको समस्या पाईन्छ ।
मेरुदण्ड र ढाडको बनावट
मानिसको मेरुदण्डमा एकमाथि अर्को गरेर ३३ वटा हड्डीहरू मिलेर बनेका हुन्छन । दुईवटा हड्डीको बीचमा कुरकुरे हड्डी हुन्छ । मेरुदण्डको हड्डी र कुरकुरे हड्डीहरुलाई रातो र सेतो मांसपेशीहरुले आफ्नो ठाउँमा मिलाएर राखेका हुन्छन् । मानव शरीरको मेरुदण्डको तल्लो हिस्सालाई ढाडको रुपमा लिइन्छ । यसको माथि छातीको भाग रहेको हुन्छ भने तल्लो भागमा खुट्टा अरूसँग सम्पर्क हुने क्रम रहेको हुन्छ । यसमा ५ वटा मेरुदण्डका हड्डी र पाँचवटा कुरकुरे हड्डीहरु रहेका हुन्छन ।
मेरुदण्डले शरीरको तौल थेग्न र मेरुदण्डको चालमा महत्वपूर्ण भूमिका निभाएको हुन्छ । यसको बनावटमा बाहिरी पत्र र भित्री पत्र हुने गर्दछन् । भित्री पत्रमा सानो उमेरमा झण्डै ९० प्रतिशत र वयस्कमा ८०दशलब ५ पानी हुन्छ । उमेर बढ्दै गएपछि र मानिसको विभिन्न क्रियाकलापबाट यो पानीको मात्रा बिस्तारै कम भएर कुरकुरे हड्डी विस्तारै कमजोर हुँदै जान्छ । यसैले गर्दा बाहिरी पत्र च्यातिने र भित्री पत्रमा भएका विभिन्न रसायनहरु चुहिएर ढाड र खुट्टामा जाने नसाहरुमा उत्तेजना पैदा गर्दछ र ढाड र खुट्टा दुखाई हुन्छ । यस्तो अवस्थालाई सिएटिका भनिन्छ । बाहिरी पत्र अझ कमजोर भएमा भित्री पत्रको धेरै भाग निस्कन गई खुट्टामा जाने ठुला नशाहरु च्यापिने गर्दछ । यस्तो अवस्थालाई डिस्क प्रोल्याप्स र साधारण भाषामा नशा चेपिएको भनिन्छ ।
ढाड दुखाईका प्रकार
ढाडको दुखाई दुई प्रकारका हुन्छ । जस्तै अल्पकालीन र दीर्घकालीन हुन्छ । कुनै पनि कारणले केही महिना सम्मको दुखाईलाई अल्पकालीन दुखाई भनिन्छ तर करिब २० प्रतिशत मानिसलाई यो दुखाई दीर्घकालीन रुपमा हुन सक्दछ । तीन महिनाभन्दा बढी समय दुख्ने अवस्थालाई दीर्घकालीन दुखाई भनिन्छ । यस्ता बिरामी मानसिक रूपले तनावमा हुने र आफ्नो नियमित कामहरु गर्न नसक्ने हुन्छन् ।
कारणहरू
यिनीहरु मध्ये कुनै एक वा बढी तन्तुहरु तन्किने, खराब हुने वा आफ्नो ठाउँ छोड्ने अवस्थामा ढाडको दुखाई हुन सक्दछ । लामो समयसम्म बस्ने वा गलत आसनमा बस्ने, एक्कासी मासुहरु, मांशपेशीहरु तन्किने वा गह्रुङ्गो सामानहरु खराब तरिकाले उठाउने वा शरीरको तौल धेरै भएर पनि हुन सक्दछ । महिलाहरुलाई गर्भावस्थामा भएको पनि ढाडको दुखाई धेरै हुन सक्दछ । दीर्घकालीन ढाड दुखाईका कारणहरु धेरै हुन सक्दछन् । जस्तै ः सेतो मांशपेशीहरु च्यातिने, जोर्नी खिईने , मेरुदण्डको कुरकुरे हड्डीको बाहिरी पत्र च्यातिने , ढाडको हड्डीहरुको सन्तुलन बिग्रने आदि हुन । यी बाहेक संक्रमण, ट्युमर र वृद्धवृद्धामा हड्डी कमजोर भई कुच्चिएर पनि दीर्घकालीन रुपमा दुखाई हुन सक्दछ ।
निदान
ढाड दुखाईको निदान बिरामीले आफ्नो ढाड दुखाईको बारेमा वर्णन गरेका लक्षणहरू र उसको शारीरिक परीक्षणबाट हुन सक्दछ र यदि लक्षणहरूको विश्लेषण र शारीरिक परीक्षणबाट मात्र दुखाईको कारण निदान गर्न नसकिएमा थप परीक्षणहरू गर्नुपर्ने हुन्छ । डिस्क प्रोल्याप्स भएका बिरामीलाई बस्दा, उभिँदा ढाड र खुट्टा दुख्ने, औंलाहरु निदाउने वा लाटो हुने,ढाडको मांसपेशी कडा हुने आदि लक्षणहरु देखा पर्दछ । यी लक्षणहरु सुत्दा वा आराम गर्दा कम भएर जाने गर्दछ । यस्तो अवस्थाको निदानको लागि ढाडको (एम.आर.आई.) गरेर हेर्नु पर्दछ । साधारण एक्सरेले यस्तो अवस्था देखिँदैन । तसर्थ यस्तो अवस्थाको लागि ढाडमा इन्जेक्सन लगाएर गरिने जाँच गर्न सकिन्छ
उपचार
कुनै पनि ढाड दुखाईको लागि गरिने शुरुको उपचार भनेको आराम गर्ने, नदुख्ने औषधि खाने, शुरुमा चिसो र पछि तातोले सेक्ने हो । दुखाई ठीक भएपछि भविष्यमा ढाड दुख्ने समस्याको कम गर्नको लागि ढाडको मांशपेशीहरु बलियो बनाउने कसरतहरु शुरु गर्नुपर्दछ । यसरी प्रायः सबैजसो अल्पकालीन दुखाई ३ महिना भित्र ठिक हुने गर्दछ ।
दीर्घकालीन ढाड दुखाई औषधि र कसरतले ठिक नभएमा ढाडमा इन्जेक्सन लगाउन सकिन्छ । यस उपचारबाट पनि बिरामीको ढाड र खुट्टाको दुखाइ कम नभएमा आजभोलि दुरवीन प्रयोग गरेर विरामीलाई बेहोस नबनाई भर्ना नगरी बाहिरी पत्र लाई बलियो बनाउने एन्युलोप्लास्टी नशालाई च्यापिएको भाग निकाल्न अप्रेसन गर्न सकिन्छ । तर यदि एकदम नराम्रोसँग नशा चेपिएको छ भने बिरामीलाई खुट्टा र औंलाहरू निदाउने, लाटो हुने, कमजोर हुने, दिशा र पिसाबको नियन्त्रण नहुने, असह्य पिडा, दुखाई हुने गर्दछ । यस्तो अवस्थामा भने शुरुमै अप्रेसन गर्न आवश्यक हुन्छ र यस्तो उपचार गरेर बिरामी २४ घण्टा भित्रै आफ्नै घर फर्कन र केही दिनपछि आफ्नो साधारण कामहरु गर्न सक्दछन् । ८ मिलिमिटर साइजको दुरबीन इन्डोस्कोपीको प्रयोगबाट गरिने यस्तो अप्रेसनमा टाँका लगाउन समेत जरुरत हुँदैन ।
यी बाहेक खासै कारण हुने दुखाइमा पनि यी जोर्नीहरू भित्रै इन्जेक्सन लगाएर यी जोर्नीहरूबाट दुखाईको संवेदना मस्तिस्कसम्म लैजाने नशाहरुमै इन्जेक्सन लगाउने उपचार गर्न सकिन्छ ।
बृद्धबृद्धामा अधिक कमजोर भएको हड्डी कुच्चिएर दुखाई भएमा हड्डीभित्र विशेष किसिमको सिमेन्ट भर्ने उपचार पनि गर्न सकिन्छ । यी उपचारहरु गर्न बिरामीलाई भर्ना हुन र बेहोश बनाउन जरुरी पर्दैन । सबै उपचारहरू बिरामीको ढाडको दुखाईको सटिक कारणको निदान र उपचार गर्ने बिशेष तालिम प्राप्त मेरुदण्ड र स्नायु रोग विशेषज्ञले मात्र गर्न सक्दछन् । यी सबै किसिमका उपचारहरु हामीले नेपालमै उपलब्ध गराइरहेका छौं ।
रोकथाम
हाम्रो हरेक चालमा मेरुदण्डको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले यसको कसरी जतन गर्ने भन्ने कुरा जान्नु आवश्यक छ । कसरी बस्ने, कसरी हिँंड्ने, कसरी उभिने, कसरी सवारी सधान चलाउने, कसरी सुत्ने, कसरी आफ्नो काम गर्ने भन्ने कुरा जान्नु आवश्यक संगै आफ्नो जीवनमा लागु गर्नु पर्दछ । पहिले ढाड दुखेका मानिसलाई यी कुराहरू जान्नु अझ बढी जरुरी छ । आफ्नो ढाडको मांशपेशीहरू बलियो बनाउने कसरतहरू गर्नाले ढाडको दुखाई कम हुन सक्दछ । ढाडको लागि हिँंड्नु र पौडी खेल्नु राम्रा कसरतहरू हुन् तर ढाड दुखेको बेलामा भने पौडी खेल्नु हुँदैन । सामान उठाउँदा खेरी घुँडा खुम्च्याएर ढाडलाई सिधा राख्नु पर्छ । गह्रुुङ्गो सामान उचाल्न र एक ठाउँबाट अर्को ठाउँमा लैजान ट्रलीहरुको प्रयोग गर्नु पर्छ ।
लामो समयसम्म एउटै स्थानमा बसी राख्नु हुँदैन । यसरी बस्यो भने कुरकुरे हड्डीमा धेरै चाप पर्दछ । आधा घण्टासम्म कुनै एउटा आसनमा बसेपछि उठ्ने र केही बेर टहल्नु जरुरी हुन्छ । धेरै नरम कुर्सीमा बस्नु हुँदैन, ठिक्क खालको कडा कुर्सीमा बस्नु पर्दछ । र सुत्दा खेरी एकदम नरम र एकदम कडा खालको होइन, ठिक्क खालको ओछ्यानमा सुत्नु पर्दछ । आफ्नो पेटमा घोप्टो परेर सुत्नु हुँदैन । यसो गर्दा ढाड दुख्ने गर्दछ ।
आफुलाई सजिलो हुने हिसाबले कोल्टो सुत्नु पर्दछ वा सिधा सुत्नु पर्दछ । सिधा सुत्दा घुँडा मुनि सानो तकिया राख्नु राम्रो हुन्छ । यदि केही दिनको औषधि र आरामले पनि ढाडको दुखाई कम नभएमा स्नायु र मेरुदण्ड विशेषज्ञलाई देखाउनुपर्छ ।
लेखक डा. बाल गोपाल कर्माचार्य नेपालको सुन्दर शहर पोखरामा रहेको नेपालकै पुरानो शिक्षण संस्था मणिपाल मेडिकल कलेजमा ११ वर्ष देखि बरिष्ठ न्युरो सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।