विषय प्रवेश
औषधी ऐन २०३५ अनुसार, “औषधि” भन्नाले मानिस, पशु वा पक्षीलाई हुने रोगको निदान गर्न, उपचार गर्न वा रोकथाम गर्न, रोग निको पार्न वा साम्य गर्न वा मानिस, पशु वा पक्षीलाई रोग ल्याउने कीराहरुको नाश गर्न वा मानिस, पशु वा पक्षीको शारीरिक बनावट वा प्रक्रियालाई असर पार्न प्रयोग गरिने पदार्थ वा त्यस्तो पदार्थमा लगाउने साधक पदार्थ समेतलाई सम्झनु पर्छ भनेर परिभाषित गरिएको छ । त्यस्तै उक्त ऐन कै दफा १८ मा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्न नहुने भन्ने व्यवस्था छ जस मा कुनै व्यक्तिले औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्न हुँदैन । त्यस्तै उक्त ऐन कै उपदफा २ मा दफा १७ को उपदफा (२) र (३) को विपरीत कुनै औषधिको बिक्री–वितरण गरे गराएमा सो औषधिको अनुचित प्रयोग वा दुरुपयोग भएको मानिनेछ । त्यसै गरी दफा १९ मा औषधिको झुट्टा वा भ्रमात्मक प्रचार गर्न नहुने भन्ने व्यवस्था छ साथै उक्त दफा कै उपदफा १ मा कुनै व्यक्तिले औषधिको प्रयोग, उपयोगिता वा प्रभावकारिता सम्बन्धमा झुट्टा वा भ्रमात्मक प्रचार वा विज्ञापन गर्न हुँदैन । त्यसैगरी उपदफा (२) मा , कुनै औषधिको प्रचार वा विज्ञापन गर्न चाहने व्यक्तिले त्यसको लागि तोकिएको दस्तुर तिरी तोकिए बमोजिम विभागबाट अनुमतिपत्र लिनु पर्नेछ भन्ने कानूनी व्यवस्था छ ।
“औषधि बिक्रि प्रतिनिधि” भन्नाले औषधि वा औषधिजन्य बस्तु हरुको व्यवसायिक प्रर्वद्धनको लागि औषधि कम्पनीबाट आधिकारिक रुपमा नियुक्त गरिएका प्रतिनिधि लाई बुझिन्छ । औषधि बिक्रि प्रतिनिधिले आफ्नो कम्पनी को उत्पादन र उक्त उत्पादनको प्रभाबकारिता, गुणस्तरीयता, उपलब्धता लगायत अन्य बिषयमा तथ्यपरक सुचना स्वास्थ्यकर्मी समक्ष पुर्र्याउने मुख्य दायित्व रहन्छ ।
नेपालमा औषधिको बिक्री वितरण को लागि टेलिभिजन, पत्र पत्रिका तथा अनलाइन मीडिया साथै अन्य हिसाब ले विज्ञापन गर्न नपाइने व्यवस्था भए बाट औषधी को प्रयोग ,उपयोग वा प्रभावकारीता को लागि मौखिक विज्ञापन भइराखेको अवस्था विद्यमान छ ।
मौखिक बिज्ञापनको काम औषधि बिक्री प्रतिनिधि हरु ले गर्दै आइराखेका छन जसले गर्दा स्वास्थ्यकर्मी माझ उक्त कम्पनीका उत्पादनहरु को बारेमा तथ्यपरक सुचना सम्प्रेषण भई जनाताले गुणस्तरीय औषधी पाउने अवस्था बनेको छ । कुनै पनि डिजिटल मार्केटिङ गर्न नपाइने कानूनी व्यवस्था साथै औषधी जस्तो गम्भीर विषयमा डिजिटल मार्केटिङ को सान्दर्भिकता पनि कम हुने, बढी खर्चिलो हुने हुँदा मौखिक विज्ञापन ले आजको दिन सम्म महत्वपूर्ण भूमिका खेलेको छ साथै गुणस्तरीय उत्पादन हरु स्वास्थ्य कर्मी माझ पुर्याउन को लागि सघाउ पुगेको छ । डिजिटल मार्केटिङ को लागत धेरै हुने , सीमित वर्ग मा मात्र प्रतिफल जाने तथा सीमित रोजगारी मात्र सिर्जना गर्ने हुँदा पनि नेपाल को परिवेश मा औषधि बजारीकरण मा अपनाइएको यस विधि वैज्ञानिक एबम् तथ्यपरक र आवश्यकता लाई बोध गर्न सक्ने छ भनेर अनुमान लगाउन सकिन्छ परन्तु विश्व मा औषधी प्रवद्र्धन को लागी मौखिक बिज्ञापन लाई नै बढि प्रयोग मा ल्याइएको छ तथापी अहिले को बदलिँदो अवस्था अनुसार धेरै औषधी उद्योग हरु डिजिटल दुनिया मा आफुलाई परिस्कृत्त गराइ रहेका छन ।
काठमाडौमा सर्वप्रथम खुलेको काठमाडौ मेडिकल हल लगायत त्यस पछि खुलेका औषधी पसल हरु ले विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको नेपाल मा औषधिको उपलब्धता लाई केही हद सम्म सघाउ पुर्याएको थियो त्यसै अनुरूप विभिन्न बहुराष्ट्रिय कम्पनी हरुले नेपालमा आफ्नो व्यापार लाई अघि बढाउन सफल भएका थिए । औषधीे बजार को विस्तार भए सँगै कम्पनीहरु को औषधीको प्रयोग सम्बन्धी तथ्यपरक सूचना प्रसार को लागि आधिकारिक रूप मा आफ्ना औषधी बिक्रि प्रतिनिधि हरु राख्ने काम को सुरुवात भएको थियो । नेपाल को पहिलो औषधी उद्योग केमीड्रग इन्डष्ट्रिज प्रा लि को सुरु भए देखि नै नेपाल मा औषधी प्रवर्द्धन को लागि औषधी कम्पनी हरु ले औषधी बिक्रि प्रतिनिधि हरु राखेर आफ्नो व्यवसायिक विकास गरेको पाउन सकिन्छ ।
औषधी जस्तो गम्भीर विषय मा तथ्यपरक सूचना सम्प्रेषण को लागि कम्तीमा औषधी विज्ञानमा स्नातक B .Pharmacy) वा विज्ञान मा स्नातक (B.Sc) राख्नु पर्छ भन्ने मान्यता को सुरुवात त्यति नै बेला भएको पाउन सकिन्छ । परन्तु आज पनि त्यो अवस्था जारी नै छ । आज नेपाली र भारतीय लगायत बहुराष्ट्रिय कम्पनी हरु को नेपाल मा भएको उपस्थितिले नेपाल को औषधि उद्योग को विकास मा महत्त्वपूर्ण भूमिका मात्र खेलेको छैन विदेशी सीप, कौशल र भूमिका मा रहेका मानिस हरु लाई देश भित्र नै आफ्नो क्षमता प्रदर्शन गरेर रोजगारी सिर्जना गर्न उत्प्रेरित गरिराखेको छ । नेपाली औषधी उद्योग हरुको विकास को लागि दिन रात नभनि अगाडि बढ्न उच्च मनोबल को साथ सघाउ पुर्याएको छ अझ यसको विकास र विस्तार को लागि राज्य ले औषधी उद्योग लाई सुविधा हरु दिन आबस्यक छ जसले जनता लाई गुणस्तरीय औषधी सर्वसुलभ मूल्य मा जनता लाई उपलब्ध गराउन सघाउ पुग्नेछ । औषधी र स्वास्थ्य प्रविधि सामग्रीको राष्ट्रिय उत्पादन,नयाँ प्रविधिको हस्तान्तरण, उपेक्षित रोग उपचारका लागि औषधी अनुसन्धान र बिकास को अवस्था मा अझ धेरै सुधार गर्नु पर्दछ । आम नागरिक को स्वास्थ्य संग प्रत्यक्ष जोडिएको औषधी आफै मा संवेदनशिल र अनिवार्य विषय हो ।
आज विश्वभरका अधिकाँश मानिस हरु ले स्वस्थ जीवन का लागि कुनै कुनै औषधी सेवन गरिराखेका छन् । गुणस्तरीय औषधी ले मात्र मानव स्वास्थ्य लाई स्वस्थ बनाउँछ । गुणस्तरीय औषधी उत्पादन ,त्यो उत्पादन को व्यवसायिक प्रवर्द्धन र प्रभावकारी वितरण बाट मात्रै नागरिक हरुलाई स्वस्थ राख्न सकिन्छ । औषधी को उत्पादन मूल्य र उपभोक्ता मूल्य मा बढी नै अन्तर भएको ले औषधी धेरै महँगो र जनता को पहुच भन्दा बाहिर रहेको भन्ने विभिन्न जनगुनासो हरु आइरहेकै छन् त्यता तर्फ अब हाम्रो ध्यान केन्द्रित हुन आबस्यक छ ।
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड एन्भारोमेन्ट (साउती) को तथ्याँक अनुसार नेपालमा वर्षेनी औषधी प्रयोगकर्ताको संख्या १५ प्रतिशतले वृद्धि भइरहेको छ । सो मागलाई पुरा हुने गरी स्वदेशमै औषधी उत्पादन हुन सकेको छैन । यद्दपी बजार को बृद्धि र स्वदेशी तथा बिदेशी औषधी उद्धोग हरु को महत्वकाक्षी ब्यापारिक योजना मा तालमेल मिल्न नसक्दा बजार मा बिक्रृति मौलाएको अवस्था छ । साउतीका अध्यक्ष एवंम अर्थशास्त्री डा. पोषराज पाण्डेले ४५ अर्ब रुपैयाँको बजार हिस्सामा नेपाली औषधी उत्पादकहरुको ५० प्रतिशत योगदान रहेको उल्लेख गरेका छन् । यस्तै नेपालमा उत्पादन हुने औषधीका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीन लगायत अन्य मुलुक बाटबाट आयात हुन्छ । औषधी को व्यवसायिक प्रबर्धन को लागी नेपाल मा रास्ट्रिय तथा अन्तरास्ट्रिय कम्पनी हरु मा करिब १० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन जसको कारण देश को अर्थतन्त्र र रोजगारी मा समेत सहयोग पुगेको छ ।
अन्त्यमा ,
देश विकासको लागि राष्ट्रिय पूंँजीको विकास अपरिहार्य रहन्छ । औषधि आफैंमा संवेदनशील क्षेत्र भएको हुँदा यो क्षेत्रमा अझ बढी लगानी आवस्यक छ । औषधी क्षेत्रमा लगानी गर्न सक्ने वातावरण बनाउनु, औषधि उद्योगमा अनुसन्धान र विकास कार्यलाई प्रोत्साहन गर्नु, प्राविधिक कारणले संभव भएका औषधि उत्पादनमा आत्मनिर्भर हुने अवस्थाको सृजना गर्नु, उच्चस्तरिय विकसित प्रविधिको प्रयोग मार्फत गुणस्तरीय औषधि उत्पादन लाई सर्वसुलभ गराउदै, फार्मेसी शिक्षा मा ब्यापक सुधार ल्याउनु आजको आवश्यकता हो । व्यवसायिक बजारीकरणले मात्र उद्योगको सफलता चुम्न सक्छ । व्यवसायिक बजारीकरण को लागि दक्ष, क्षमतावान,पेशागत निपुणर््ाता, पेशागत तथा व्यवसायिक विकास गर्न सक्ने,नयाँ सम्बन्ध लाई विस्तार र विकास गर्न सक्ने, आफ्नो भूमिकालाई अझ फराकिलो बनाउँदै औषधि बजारीकरणमा आफ्नो भविष्य निर्माण गर्न सक्ने औषधी प्रतिनिधिहरुको खाँचो छ, त्यस्ता औषधी प्रतिनिधिहरुलाई निरन्तर उच्च मनोवलका साथ काम गर्न सक्ने वातावरण कम्पनी व्यवस्थापन ले निर्माण गरिदिनु पर्दछ ।
व्यापारको नाममा व्यवसायिकता निभाउन नसक्ने कम्पनी व्यवस्थापन र औषधी प्रतिनिधिसाथीहरू को कारण पेशा मा विभिन्न समस्या आइराखेको छन् भने हाम्रो अधिक नाफामुखी सोच, व्यवहार र शैली को कारण औषधी जस्तो संवेदनशील विषय मा व्यापारीकरण बढ्दो छ । त्यसको लागि सबै जिम्मेबार सरोकारवालाहरु ले एक पटक आफैले आफैलाई मूल्यांकन गरी त्यस्ता काम नगर्नु नगराउनु नै आजको औषधि बजारीकरण को व्यवसायिक सुधारको बिन्दु हुन सक्छ ।
सम्दर्भ सामाग्रीहरु
१.नेपालको संविधान, २०७२
२.राष्ट्रिय स्वास्थ्य नीति, २०७६
३.राष्ट्रिय औषधि नीति, २०५१
४.औषधी ऐन २०३५
५.नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघको विधान
६. https://www.lokpath.com
७. https://capitalnepal.com