काठमाडौं । भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार विरोधी अभियानको पाटोअन्तर्गत उनी बर्खास्त हुने हल्ला कयौं दिनदेखि चलिरहेकै समयमा फुकले राजीनामा दिएका हुन् ।
फुकले आफ्नो राजीनामा पेश गरेको अनि काम छाडेर सेवा निवृत्त भएको त्यहाँको सरकारी सञ्चारमाध्यम भीएनएले मंगलवार नै समाचार छापेको थियो । उनले व्यक्तिगत कारणले पदत्याग गरेको बताइएको छ ।
राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी) तथा त्यसको १३ औं केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् ।
उनी प्रधानमन्त्री हुँदा सन् २०१६ देखि २०२१ को बीचमा उनको मन्त्रीमण्डलका वरिष्ठ मन्त्रीहरूको भ्रष्टाचार कान्डमा उनी जिम्मेवार रहेको कम्युनिष्ट पार्टीले ठहर गरेको भीएनएले बताएको छ । फुक दुई वर्षअघि मात्रै भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
भ्रष्टाचार विरोधी अभियानमा यो महीनाको शुरुमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भुडक डमलाई बर्खास्त गरिएपछि दर्जनौं अधिकारीहरूलाई पक्राउ गरिएको थियो । यीमध्ये कयौं भियतनामको कोभिड नियन्त्रण प्रक्रियामा घोटालाको आरोपमा पक्राउ भएका थिए ।
आफ्नो उपप्रधानमन्त्री र तीन मन्त्रीहरूले गरेको भ्रष्टाचार र अनियमितताको राजनीतिक जिम्मेवारी फुकले लिएको बताइएको छ । मिन विदेश मामिला मन्त्री हुन् भने डमले कोभिड नियन्त्रणको जिम्मा पाएका थिए । कोभिडको परीक्षण किट वितरण घोटालामा डमको सहयोगीसमेत कम्तीमा सय जना अधिकारी र व्यवसायीहरूलाई पक्राउ परेका छन् ।
महामारीको समयमा भियतनामीहरूलाई स्वदेश फिर्ता मामिला आरोपमा वरिष्ठ कूटनीतिज्ञ र प्रहरीसमेत ३७ जनालाई पक्राउ गरिएको थियो । एजेन्सी