H3N2 इन्फूलेन्जा भाइरस यस्तो भाइरस हो । जसको मानिसमा संक्रमण भएपछि ज्वरो,रुघा,खोकी,नाकबाट तरल पद्दार्थ वग्ने,घांँटी दुख्ने, थकान महसुस हुने ,शरीर दुख्ने,पखाला लाग्ने, सास फेर्न अप्ठेरो हुने र कतिपयलाइ आँखामा इन्फेक्सन हुने समेतको लक्षणहरु देखिने गर्दछ । यसको समयमै उपचार नभएमा मानिसको मृत्यु समेत हुने गरेको छ ।
यो भाइरस नयाँ पत्ता लागेको भाइरस भने होइन । सर्वप्रथम ५५ वर्ष पहिले चीन, हङकङ्गका केही क्षेत्रहरुमा कोभिड–१९ जस्तै महामारी फैलिएको र सो अबस्थामा करीब १० लाख जना मानिसको मृत्यु भएको थियो भने सो अवस्थामा उक्त भाइरस हङकङ्ग फ्लुबाट परिचित भयो र हाल भारतबाट नेपाल आउने अन्य देशका मानिसमा र सिमा नाकामा बसोबास गर्ने मानिसहरुमा समेत उक्त लक्षणहरु देखा परेको थियो । उक्त भाइरसले पुरानो दम, निमोनिया भएका व्यक्तिलाई थप ग्रसित र संक्रमित गराउने गर्दछ ।
भारतको स्वास्थ्य सम्वन्धित संस्था Indian Council Of Medical Research (ICMR) ले उक्त लक्षण सहितको H3N2 भाइरस प्रमाणित भएका बिरामीलाई आवश्यक नपरेसम्म एन्टीबायोटिक्स औषधिहरु नचलाउनु भनेर विज्ञप्ति जारी गरेर सुचित गराएको छ । उक्त अवस्थामा आवश्यक नहुने एन्टिवायोटिक्स चलाएमा नकारात्मक असर समेत पर्न सक्छ । भारतमा रहेका अस्पतालमा उक्त लक्षण सहित भर्ना हुने विरामीहरुको तथ्याङ्ग हेर्दा ९२% ज्वरो , ८६% खोकी, २७% सास फेर्न गारो १०% लाइ अक्सिजन आवश्यक पर्ने, ७% लाइ I.C.U. आवश्यक, १६% लाइ छातीमा घरघराहट हुने, १६% लाइ निमोनिया र ६% लाइ घबराहट हुने समस्या पाइएको छ ।
H3N2 इन्फूलेन्जा भाइरस अत्यधिक संक्रामक छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो संक्रमित व्यक्तिको र्यालको थोपाहरु हावामा फैलिएर कुनै पनि व्यक्तिको नाकको प्वाल वा मुखबाट सजिलै छिर्न सक्छ । त्यसैले आफु संक्रमित भएमा कुनै पनि व्यक्तिसँग कुरा गर्दा उचित दुरी कायम गर्नु पर्छ र खोक्दा वा हाछ्युंँ गर्दा मुख छोप्नु पर्दछ ।
यो संक्रमण भएपछि ४ प्रकारका मानिसहरुलाई धेरै नै जोखिम हुने गर्दछ । जस्तै सुत्केरी महिला, वालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरु ।
यो संक्रमण नहुनको लागि सधै ध्यान दिनुपर्ने विषयहरुमा साबुन पानीले नियमित हात धुने , मास्क र सेनेटाइजरको प्रयोग गर्ने, हात नधोईकन अनुहार, नाक, मुख नछुने र सकेसम्म भिडभाडको स्थानमा नजाने गर्नुपर्दछ । यस भाईरसको उपचार भनेको आराम गर्ने तथा धेरै भन्दा धेरै झोलिलो पर्दाथ खानुका साथै र यस्ता लक्षण देखिएको ४८ घन्टा भित्र चिकित्सकको सल्लाह अनुसार Anti-Viral औषधी प्रयोग गर्नुपर्दछ ।
उक्त लक्षणहरु देखा परेका बिरामीहरुले हेलचक्रयाई र लापरवाही नगरिकन चिकित्सकको सम्पर्कमा रहेर परामर्श लिएर उपचार तथा जाँच गराएको खण्डमा यस भाइरस बाट बच्न सकिन्छ ।
(लेखक डा. सुभम् शर्मा भिम अस्पताल, भैरहवामा कार्यरत हुनुहुन्छ )
