चितवन । भरतपुर कारागारमा बजेट अभाव भएपछि औषधिको चरम अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा आधा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्य कैदीबन्दीका लागि औषधिको अभाव भएको हो ।
कारागारमा ८०० को हाराहारीमा कैदीबन्दी छन । कारागारका स्वास्थ्य अधिकृत लेखनाथ पौडेलले झण्डै ६ महिनादेखि कारागारमा औषधि अभाव भएको जानकारी दिनुभयो । ‘गत बर्ष २५ लाख बजेट थियो । ‘यो आर्थिक बर्षमा आएको १२ लाख बजेट ६ महिना अघिनै सकियो । अहिले हामीले विभिन्न स्वास्थ्य संस्थासंँग मागेर चलाएका छौं । ’ पौडेलले भन्नुभयो ।
उहांँका अनुसार कारागारमा उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, छालारोग मिर्गौलाजस्ता दीर्घ बिरामीका लागि औषधी छैन ।
औषधिको चरम अभाव भएपछि कारागारले रु १५ लाख माग गरेपनि एक लाखमात्रै प्राप्त भएको पौडेलले बताउनु भयो ।
यसका साथै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा थप चुनौति हुने उहांँको भनाई छ ।
औषधि अभाव भएपछि कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधि किनेर खान थालेको उहांँले बताउनु भयो ।
