क्याथल्याब प्रविधि र प्रयोग
क्याथल्याबको पुरा नाम क्याथेटराइजेशन ल्याबरोटरी हो । यसमा एक्स–रे पद्धतिमा आधारित फ्लोरोस्कोपिक नामक प्रविधिको प्रयोग हुन्छ । यो मुटु तथा नसा रोगको निदान तथा उपचारका निम्ति प्रयोग गरिन्छ । सन् १९२९ मा दाहिने मुटुका कोठाहरुको अध्ययन गर्न पहिलो पटक यो प्रविधिको प्रयोग गरिएको ईतिहास छ । तत्पश्चात सन् १९६० को दशकताका अमेरिकामा मुटुको नसाको अध्ययन गर्न यो प्रविधिको प्रयोग गरिएको थियो ।
नेपालमा क्याथल्याबको इतिहास
नेपालमा सन् २००० भन्दा अगाडी नै फ्लोरोस्कोपिक प्रविधि प्रयोगमा आएता पनि संस्थागत रुपमा भने सन् २००० बाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कोरोनरी एन्जीयोग्राफी गरी क्याथल्याबको प्रयोगको शुरुआत भएको देखिन्छ । हाल नेपालमा २७ वटा सेन्टरमा ३० वटा क्याथल्याब सञ्चालनमा रहेका छन् ।
क्याथल्याबमा के के गरिन्छ ?
हाल क्याथल्याबमा सबैभन्दा बढी गरिने जाँच भनेको कोरोनरी एन्जीयोग्राफी हो । शरीरका कुनै पनि भागका आर्टरीहरुको रक्त प्रवाह अथवा साँगुरोपनाको बारेमा क्याथल्याबमा अध्ययन गर्न सकिन्छ । मुटुको आर्टरीको ब्लकेज खोल्ने पद्धतिलाई एन्जीयोप्लास्टी भनिन्छ । यस्तै क्याथल्याबमा पेशमेकर आइ.सि.डि., सि.आर.टि.डि. राख्ने तथा मुटुको चाल गडबड भएका बिरामीमा इलेक्ट्रोफिजियोलोजी स्टडी तथा रेडियो फ्रिक्वेन्सी एबलेशन पनि गर्ने गरिन्छ । त्यस्तै अप्रेशन नगरी मुटुको भल्भ खोल्न वा फेर्न तथा मुटुको प्वाल टाल्न पनि क्याथल्याबको प्रयोग गरिन्छ । सामान्यतया क्याथल्याबमा गरिने प्रोसिजरमा बिरामीलाई बेहोस पारिँदैन ।
हाइब्रिड क्याथल्याब भनेको के हो ?
बिरामीलाई बेहोस नपारी प्रोसिजर गर्न मिल्ने तथा बेहोस पारेर ओपन हार्ट सर्जरी गर्न मिल्ने दुबै सुविधा भएको क्याथल्याबलाई हाईब्रिड क्याथल्याब भनिन्छ । हाल यो सुविधा नेपालमा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मात्रै उपलब्ध रहेको छ ।
बाइप्लेन क्याथल्याब भनेको के हो ?
एउटा मात्रै क्यामेराले फोटो खिच्ने क्याथल्याबलाई मोनो प्लेन क्याथल्याब भनिन्छ । त्यस्तै दुईवटा क्यामेराले एकै साथ फोटो खिच्ने क्याथल्याबलाई बाइप्लेन क्याथल्याब भनिन्छ । यो प्रविधिमा प्रोसिजर चाँडो हुने भएकोले उक्त प्रक्रियामा प्रयोग हुने कन्ट्रास्ट मिडियम (विशेष किसिमको औषधि) को प्रयोग समेत कम हुने गर्दछ । हाल यो क्याथल्याब काठमाडांै मेडिकल कलेज सिनामंगल र उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल बाँसबारीमा मात्र उपलब्ध छ ।
(लेखक प्रा.डा.राजेश नेपाल नोबेल मेडिकल कलेज विराटनगरमा वरिष्ट मुटुरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।)
