धादिङ । बाढी पहिरो लगायतका विपद्पछि प्रभावित समुदायमा देखिन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै गजुरी गाउँपालिका–१ स्थित आदर्श माध्यमिक विद्यालयकी स्कूल हेल्थ नर्स मन्दिरा न्यौपाने स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा खटिनुभएको छ।
स्वास्थ्य सहायता कक्षमार्फत घाइते तथा बिरामीको प्राथमिक उपचार, सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग तथा संक्रमणजन्य रोगबाट बच्ने उपायबारे आवश्यक जानकारीसमेत दिइँदै आएको छ।
“विपद्पछि चोटपटकसँगै संक्रमणजन्य रोगको जोखिम पनि बढ्छ। त्यसैले तत्काल उपचारसँगै सरसफाइ, सुरक्षित पानी र स्वास्थ्य सावधानीबारे सचेत गराउनु हाम्रो प्राथमिकता हो,” न्यौपानेले भन्नुभयो।
थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरी सेवा उपलब्ध गराउने गरिएको उहाँले बताउनुभयो। “समयमै स्वास्थ्य समस्या पहिचान र उपचार गर्न सके विपद्पछिको जोखिम न्यूनीकरण गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
बाढी पहिरो प्रभावित क्षेत्रमा यसैगरी विभिन्न संस्थाहरूले स्वास्थ्य सामग्री तथा अन्य आवश्यक सेवासमेत प्रदान गर्दै आएका छन्।
