काठमाडौं । बसुन्धरा नेशनल एकेडेमी स्कूलको आयोजनामा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै स्कूलले २ दिने शिविर संचालन गरेको हो ।
बसुन्धरास्थित रहेको नेपालको पहिलो गैरसरकारी ईशान बाल तथा महिला अस्पतालको प्राविधिक सहयोग रहेको उक्त शिविरमा नेशनल एकेडेमी स्कूलमा अध्ययनरत विद्यार्थी ,शिक्षक तथा अभिभावकहरुको आँखा र दाँतको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा ३२३ जना दाँत र ३२५ जना आँखाका गरी ६४८ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका वरिष्ठ बाल सल्य चिकित्सक तथा कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले जानकारी दिनुभयो ।
आजका विद्यार्थी भविष्यका विभिन्न क्षेत्रका जिम्मेवार नागरिक साथै नेतृत्वकर्ता हुने भएकाले ईशान अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुसार स्वास्थ्य कार्यक्रमलाई विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थी संग जोडेर निरन्तर अगाडि लैजाने अस्पतालका महाप्रबन्धक भक्त बहादुर शाहीले बताउनु भयो ।



