चितवन । रत्ननगर नगरपालिका वडा नं ३ अन्तर्गत रहेको एउटै टोलका ८४ जनाले मरणोप्रान्त आँखा दान गरेका छन् ।
श्रीगणेश टोल विकास संस्थामा आबद्ध ८४ जनाले आँखा दान गरेको अध्यक्ष शोभा शर्मा भूषालले जानकारी दिनुभयो । पटक पटकको प्रयास पछि ८४ जनाले आँखा दान गरेको अध्यक्ष भूषालले बताउनु भयो । आँखा दान गर्न प्रेरित गर्ने उद्देश्यले बस्ती बस्तीमा अभियान सञ्चालन गरिएको थियो ।
भरतपुर आँखा अस्पताल अन्तर्गत रहेको भीमराज उषमाया पाठक आँखा बैंकलाई इच्छापत्र हस्तान्तरण गरिएको हो । टोल विकास संस्थाकी अध्यक्ष शोभा शर्मा भूषालले आँखा बैंकका संयोजक छाँया श्रेष्ठलाई इच्छापत्र हस्तान्तरण गर्नुभएको थियो ।
बैंककी संयोजक श्रेष्ठले २०७४ साल यता चितवनमा ९९५ जनाले मरणोप्रान्त आँखा दान गरेको जानकारी दिनुभयो । उहांँका अनुसार चितवन र नबलपरासीका २४ जनाको मरणोप्रान्त आँखाको नानी निकालेर प्रत्यारोपण गरिएको छ ।
भरतपुर आँखा अस्पतालले अहिले सम्म सबै ठाउंँका गरी ११९ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । आँखा दान इच्छापत्र हस्तान्तरण कार्यक्रममा टोल विकास संस्थाकी अध्यक्ष भूषाल सहित पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
