काठमाडौँ । राष्ट्रिय बहिरा महासङ्घ, नेपालले बहिरा नागरिकको पहिचान सुनिश्चित गर्नुपर्ने माग गरेको छ । महासङ्घले अन्तर्राष्ट्रिय साङ्गेतिक भाषा दिवसको अवसरमा आज विज्ञप्ति जारी गरी बहिरा नागरिकको पहिचान, पहुँच, अधिकार, समावेशीकरण, सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।
नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धी, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, शिक्षा ऐनलगायत ऐनकानुनमा सुनिश्चित गरिएका हक अधिकारमा बहिरा नागरिकको पहुँच स्थापित हुनुपर्ने महासङ्घको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घको २०१७ डिसेम्बरको ७२औँ महासभाले पारित गरी हरेक वर्षको सेप्टेम्बर २३ तारिखलाई बहिरा नागरिकको सञ्चारको माध्यम साङ्गेतिक भाषाको अधिकारलाइ अन्तर्राष्ट्रिय साङ्गेतिक भाषा दिवसका रुपमा विश्वभर भव्यताका साथ मनाउने गरिएको छ । वार्षिक रुपमा मनाइने यस दिवसको यस संस्करणका लागि ‘संसारमा जहाँ बहिरा नागरिकले जहिले पनि सङ्केत गर्न सक्छन्’, भन्ने मूल नाराका साथ नेपालमा यस वर्ष पनि देशव्यापी रुपमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सन् १९५१ मा स्थापना भएपश्चात् विश्व बहिरा महासङ्घले निलो रिबनले समाजमा समानता र उनीहरूको राष्ट्रिय साङ्गेतिक भाषाको मान्यताको लागि शताब्दियौँदेखि बहिरा समुदायको कामको प्रतीकको रूपमा प्रयोग गर्ने गरेको छ ।
देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको, राज्यले एवं अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिको अनुमोदन गरी सकेको एवं अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन जारी भइसकेको अवस्थामा अझै पनि बहिरा नागरिकको आधारभूत अधिकार सुनिश्चित हुन बाँकी नै रहेको महासङ्घको भनाइ छ । रासस
