दमौली । तनहँुँको आँबुखैरेनी अस्पतालमा एक्सरे सेवा सुरु हुने भएको छ । आँबुखैरेनी गाउँपालिकाको सक्रियतामा अस्पतालमा एक्सरे सेवा सुरु गर्न लागिएको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पहलमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगाँैडाबाट पाँच सय एमए एक्सरे मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिनुभयो ।
स्वास्थ्यचौकीको रूपमा सञ्चालन भइरहेको संस्थालाई गत मङ्सिरदेखि अस्पतालको रूपमा स्तरोन्नति गरिएको थियो । अहिले अस्पतालमा सेवा विस्तारको पहल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेसिन जडान भएको छ, अब छिट्टै सञ्चालनमा आउनेछ ।” अस्पतालमा एक्सरे मेसिन नहुँदा यस भेगका जनता एक्सरे सेवा लिनका लागि छिमेकी चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त छिमेकी गोरखा जिल्लाका केही पालिकाका सर्वसाधारणले सहजरूपमा सेवा पाउने गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालको सेवा वृद्धि गर्न लागिपरेका छौँ । निकट भविष्यमै डायलायसिस सेवा सञ्चालनमा आउँछ । डायलायसिस मेसिन आइसकेको छ ।” गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “ठूला शल्यक्रिया गर्नुपरेमा महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ ।”
अस्पताललाई एक सय शय्या क्षमताको बनाउनसमेत पहल भइरहेको छ । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँ ठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल आवश्यक रहेको चुमानले बताउनुभयो । “पन्ध्र शय्याको अस्पताल हामी आफैँ चलाइरहेका छौँ, एक सय शय्याको अस्पताल प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौँ”, चुमानले भन्नुभयो, “त्यसपछि आँबुखैरेनीमात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”
गाउँपालिकाले गत मङ्सिर १ गतेदेखि आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीलाई सेवा विस्तार गरी अस्पतालमा रुपान्तरण गरेको थियो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको छ । रासस
