ढोरपाटन (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री पठाएको छ । रुकुम पश्चिम र जाजरकोटमा गए राति आएको भूकम्पबाट पीडित नागरिकको उद्धार र उपचारलाई सहज बनाउनका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाएको हो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले बडिगाड गाउँपालिकाले स्वास्थ्य सामग्रीसहित स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीको नेतृत्वमा डा कुन्दनकुमार यादव, जनस्वास्थ्य निरीक्षक डिलबहादुर केसी, हेम पुन, हेल्थ असिस्टेन्ट सुदीप रञ्जन यादवलागयत स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ पठाइएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनुभयो ।
स्वास्थ्यकर्मीको टोली यथाशक्य छिटो प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचारमा सहभागी हुनका लागि बडिगाड गाउँपालिकाका स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रतिर प्रस्थान गरिसकेको अध्यक्ष थापाको भनाइ छ । विपद्को समयमा सानो–सानो सहयोगले पनि ठूलो राहत मिल्ने हुँदा गाउँपालिकाले एक डाक्टरसहित चार जना स्वास्थ्यकर्मी पठाएको उहाँले बताउनुभयो ।
“राहत सहयोग भन्ने कुरा तत्काल गर्नुपर्ने हुन्छ, त्यहाँ विपद्मा परेका नागरिकको अवस्था देख्दा यहाँ हामीलाई दुःखेको छ, समयमै सहयोग गर्न सकियो भने कसैको ज्यान बाँच्छ, उपचार पाउँछ भन्ने हिसाबले हाम्रो यहाँका डाक्टरले त्यहाँका स्वास्थ्यकर्मीसँग संवाद गरी के–के औषधि तथा सामग्री आवश्यक छ भनी सोधेर सोहीअनुसार यहाँबाट लगेर जानुभएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “अहिले त लोकमार्गले गर्दा जाजरकोट र रुकुम पश्चिमलाई हामीसँग जोडेको छ, विपद् कहाँ कति बेला आउँछ भन्न सकिँदैन, भोलि हामीलाई पनि पर्छन सक्छ ।” रासस
