काठमाडौं । बालअधिकारको प्रत्याभूति बिना‘नयाँविश्व’ सम्भव नभएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाउँ भन्ने नारा सहित काठमाडौमा आयोजित विश्व सामाजिक मञ्चको आइतबार भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स कार्यक्रममा बोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् ।
कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न वक्ताहरूले बालविवाह, भोकमरी, युद्ध, आप्रवासन, बेचबिखन, बाढी पहिरो, यौन व्यवसायल गायतका क्षेत्रमा बालबालिका र किशोर किशोरीलाई लगाउनु दु्ःखद भएको बताएका छन् ।
कार्यक्रममा अनलाइन मार्फत मन्तव्य राख्दै युएन सीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतीका बारेमा विचार विमर्श र छलफलले समस्याका सामधान गर्ने उपाय खोजी हुने बताइन् ।
सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपाल आएको बताए ।
डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिकालागि एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताउँदै विश्वमा बिगँ्रदै गएको वातावरण जलवायु परिवर्तनले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने बताइन् । उनले बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित पिछडिएका र आदीवासी बालबालिकाको सवालमा काम गर्न समेत जोड दिइन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ बालअधिकारकर्मी तारक धितालले बालबालिका र किशोर किशोरीको अधिकारको लागि परिर्वतन सहितको दबाब सिर्जना आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम बालबालिका र किशोर किशोरीको अधिकार र उनीहरूको न्यायको लागि फलदायी हुने बताए ।
अधिकारकर्मी गौरी प्रधानले बालअधिकार पनि मानव अधिकार नै भएपनि मानव अधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताए । उनले बालबालिकाका सवालमा बालमैत्री अलग्गै कानुन आवश्यक रहेको बताए ।
अधिकारकर्मी डा. कुन्दन अर्यालले बालअधिकारको प्रत्याभूतिका लागि बाल सुरक्षा र बाल सहभागितामा जोड दिनु पर्ने बताए । उनले अहिले पनि विद्यालय शान्तिक्षेत्र अभियानको सार्थकता रहेको बताउँदै बालअधिकार प्रत्याभूतिका लागि भयरहित वातावरणको सुनिश्चितता गर्नु पर्ने बताए ।
कन्सोर्टियम नेपालकाअध्यक्ष सन्तोष महर्जनले बालबालिकाकालागि न्यायपूर्ण विश्व बनाउनु पर्ने बताए । ‘हामीले फरक विश्वबनाउने भनेका होइनौं । सबै एकजुट भएर लाग्यौं भने यही विश्वलाई न्यायपूर्ण विश्वबनाउन सकिन्छ भनेका हौं,’उनले भने ।
उक्तकार्यक्रममा बाल अभियन्ता मुस्कान खातुन, शिरमायापुन मगर, अभिनय चौहान लगायतले आ–आफ्ना अनुभव सुनाएका थिए ।
नेपालको गैरसरकारी संस्था महासंघले संयोजन गरेको यो सम्मेलनमा विश्वका विभिन्न ९१ मुलुकबाट सहभागिता रहेको बताइएको छ । आयोजकका अनुसार नेपाली र अन्तर्राष्ट्रिय गरी करिव १२ सय संघसंस्था कार्यक्रममा सहभागीका रूपमा जम्मा भएका छन् ।
