पवित्रा पौडेल, चितवन । यही फागुन २५ देखि चितवन प्रर्दशनी केन्द्रमा नवौं फर्मा एक्स्पो शुरु हुने भएको छ ।
संकटमा परेको औषधि उद्योगलाई उकास्न र प्रर्वद्धन गर्ने उद्धेश्यसहित एक्स्पो गर्न लागिएको हो । औषधि उत्पादक संघ( एपोन)ले आज भरतपुरमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए । ‘हामी अहिले ८४ वटा उद्योग भएर पनि पूर्ण क्षमतामा चलाउन सकेका छैनौ, उनले भने, यसको गुणस्तरीयता र प्रभावकारिता बारे जानकारी दिन पनि एक्स्पो गर्न लागेका हौं ।’ नेपालीऔषधि उद्योग गुणस्तरीय भएपनि सबैको पहुंँचमा नपुगेको उनले बताए । ‘हामीले डब्लु एचओको मापदण्डमा औषधि उत्पादन गरेका छौ, तर सरकारले साथ नदिंँदा हामी पछाडि परे जस्तो भएका छौं ।’ उनले भने ।
सो अवसरमा बोल्दै एपोनका वरिष्ठ उपाध्यक्ष प्रदीप रुगंटाले एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको र प्रर्दशकहरु आउने क्रम रहेको बताए । ‘हाम्रो भोलिबाटनै प्राविधिक, बजार प्रतिनिधि संँग टेक्निकल सेसन राखेका छौं , उनले भने, यसले नेपाली औषधिका बारे थप ज्ञान साटासाट हुने अपेक्षा गरेका छौं ।’
देशकै केन्द्रबिन्दु चितवन रहेकोले चितवनमै यसको तेस्रो संस्करण यहीं गर्न लागिएको उनको भनाई छ । एपोनका महासचिव सुदर्शन खेगुलीले नेपाली औषधि उद्योगको अवस्था खस्किदै गईरहेको जानकारी दिदैं एक्स्पोबाट नेपाली औषधि उद्योग बजार विस्तार हुने बताए । ‘सयभन्दा बढी औषधि उद्योग दर्ता छन । तर ८० देखि ८५ वटा औषधि उद्योग मात्र सञ्चालनमा छन । त्यो पनि आधा क्षमतामा उनले भने, यसको गुणस्तर र प्रभावकारीता बारे जानकारी दिंँदा निर्यात गर्न पनि टेवा पुग्नेछ ।’ नेपाली औषधिको प्रभावकारीता विदेशीको तुलनामा कम नभएको भन्दै उनले सरकारले पनि नेपाली औषधि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
एपोनका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा बिदेशी प्रर्दशक र प्रतिनिधि पनि आउने जानकारी दिए । उनका अनुसार यो एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौवटा देशबाट प्रतिनिधिहरु आउनेछन । ‘हामीले एक्स्पोमा औषधिको उत्पादन डेमो पनि प्रर्दशन गर्नेछौं उनले भने, यसले हाम्रा उत्पादन निर्यात गर्न मदत मिल्नेछ ।’
कार्यक्रममा औषधि उद्योगी, व्यवसायी, एपोनका पूर्वअध्यक्ष , फार्मेसी काउन्सिलका पदाधिकारी , चितवन उद्योग संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
