चितवन । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभित्रका १६ महिनादेखि २३ महिना भित्रका बालबालिकालाई १५ महिनाभित्र प्राप्त गर्नुपर्ने सबै प्रकारका खोप लगाएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख अतिथि तथा जनस्वास्थ्य कार्यालय चितवनका कार्यालय प्रमुख दिनेश रुपाखेतीको विशिष्ट आतिथ्यता र गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभातित्वमा घोषणासभा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि अधिकारीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा गाउंँपालिकालाई बधाई तथा शुभकामना दिनुभयो । उहांँले यस अभियान सफल बनाउन लागि पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय, इच्छाकामना गाउँपालिका, स्वास्थ्यकर्मीहरु,टोल विकास संस्था तथा शिक्षकहरुको प्रशंसा गर्नुभयो । जिम्मेवारीकासाथ दिगोपनाका लागि यस अभियानमा लाग्न थप जिम्मेवारी बोध गराएको उहांँको भनाई थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । उहाँले दिगोपना कसरी दिन सकिन्छ भन्ने कुरामा अझै सबै पक्षसँग छलफल गरेर काम गर्ने समेत बताउनुभयो ।
स्वास्थ्य कार्यालय चितवनका कार्यालय प्रमुख दिनेश रुपाखेतीले गाउँपालिकाले चितवनमा तेश्रो गाउँपालिकाको रुपमा घोषणा गर्न सफल भएकोमा बधाइ दिनुभयो । यस अघि रत्नगर र खैरहनी नगरपालिकाले घोषणा गरिसकेको छ ।
उहाँले जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरुलाई १३ वटा रोग विरुद्धको खोप निशुल्क प्रदान गरेको जानकारी दिनुभयो ।
गाउंँपालिाकामा २० प्रतिशत बालबालिकाले आंशिक मात्र खोप पाएका छन् भने ४ प्रतिशतले कुनै पनि खोप लगाएका छैनन् ।
इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाका अनुसार स्वास्थ्यकर्मीहरुले घरधुरी सर्बेक्षण गरि जम्मा एक हजार ६९१ जना बालबालिकाको खोपको विवरण हेरिएको थियो। जस मध्ये ३३ जना खोप छुटेका पाइएकोमा ती छुटेका लाई पनि खोप लगाई पूर्ण खोप सुनिश्चितता बनाइएको थियो ।
कार्यक्रममा स्वस्थ्य शाखाका भक्त गुरुङले खोप सुनिश्चितताका लागि गाउँपालिकामा भएका गतिविधिका विवरणहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दिगोपनालाई आगामी दिनमा निरन्तर कायम राख्नका लागि प्रतिवद्धता पत्रमा सामुहिक हस्ताक्षर समेत गरिएको थियो ।
