त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति हुने भएको छ । पन्ध्र शय्यामा सञ्चालनमा रहेको अस्पताललाई गण्डकी प्रदेश सरकारले एक सय शय्यामा स्तरोन्नतिको निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारबाट नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताउनुभयो । प्रदेश सरकारको गत सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । प्रदेश सरकारले मध्यविन्दुसहित नौ वटा अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
निर्णय कार्यान्वयनसँगै अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था हुनेछ । यो अस्पतालले ८० शय्याको सेवा प्रवाह गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । रासस
