कास्की । जिल्ला प्रहरी कार्यालय,कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले साउन लागेयता लागुऔषधको अवैध कारोबारमा संलग्न नौ जनालाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।
साउन ११ मा पोखरा महानगरपालिका–२७ शिशुवामा पोखरातर्फ आउँदै गरेको बस जेकजाँचका क्रममा कमल थापा,धादिङ घर भई हाल पोखरा बस्ने राजन क्षेत्री र मोरङका सत्यनारायण चौधरी लागुऔषधसहित पक्राउ परेका थिए। सोही दिन पोखरा–७ धारापानीबाट नुवाकोटका रवि मिजार र कास्कीका भूपेन्द्र विकलाई पनि प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको थियो।
पाँच दिनपछि साउन १७ मा वडा प्रहरी कार्यालय,बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–५ प्रस्याङबाट पर्साका सुरज सहानी र म्याग्दीका सुशील परियारलाई कोठामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ गर्यो। त्यसको भोलिपल्ट गत आइतबार पोखरा–२७ रिठ्ठेपानीबाट लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धादिङका राजन गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको थियो।
यस्तै साउन ६ गते पोखरा–३२ लामेआहालस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल चेकजाँचका क्रममा झण्डै तीन किलो गाँजासहित गोरखाका प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लियो। यी प्रतिनिधि घटनाले पोखरामा लागुऔषधको बढ्दो कारोबार र प्रयोगको अवस्थालाई दर्शाउँछ। लागुऔषध दुव्र्यसनीविरुद्ध प्रहरीले नियमित रूपमा अभियान सञ्चालन गर्दै आए पनि यसको अवैध उत्पादन र कारोबार नियन्त्रणमा आउन सकेको छैन।
लागुऔषध कारोबारमा संलग्न रहेका अभियुक्तलाई लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थपी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। पछिल्लो समय पोखरामा लागुऔषध कारोबारमा संलग्न हुनेहरू पक्राउ पर्ने क्रम बढेको उहाँको भनाइ छ।रासस
