विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पु¥याएको छ। दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन्। अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो।
अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा.अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा.मधुमिता राणाले उक्त क्लिनिक सञ्चालन हँुदै आएको क्लिनिकमा सेवा प्रदान गरिरहनुभएको छ। परामर्श,प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आययूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ।
अस्पतालले सुरु गरेको निःसन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागि राहतदायी बन्ने भएको छ। अस्पतालका अनुसार बिमामा आबद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन्। प्रमुख डा.अञ्जुदेवका अनुसार निःसन्तानको समस्यामा परेका दम्पतीका लागि यो सेवा ठूलो राहतका रूपमा आउनेछ “कुनै–कुनै अपवादबाहेक अधिकांश जाँच स्वास्थ्य बिमा योजनामार्फत नै गराउन सकिन्छ,” उहाँले भन्नुभयो“हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो”।
निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभइ सामाजिक दबाब र मानसिक तनावसँग पनि जोडिएको हुन्छ। यस्ता अवस्थामा परामर्श,जानकारी र उपचार एकैसाथ उपलब्ध हुँदा दम्पतीले ठूलो राहत पाउने अस्पतालले जनाएको छ।
